काठमाडौं । नरेन साउदको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हराएको छ । युवा बलर नरेन साउदले ५ विकेट लिएपछि सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको हो ।
नरेनले ५ विकेट लिएपछि १६८ रनको लक्ष्य पछ्याएको काठमान्डु गुर्खाज १५.५ ओभरमा ९४ रनमै अलआउट भयो । नरेन जारी एनपीएद्यमा एकै खेलमा ५ विकेट लिने दोस्रो बलर तथा पहिलो नेपाली खेलाडी बन्दै इतिहास रचेका छन् । यसअघि चितवन राइनोजका पाकिस्तानी बलर सोहल तनविरले काठमान्डु विरुद्ध नै ५ विकेट लिएका थिए ।
नरेन हिजो मात्र एसिसी यू-१९ एसिया कप खेलेर युएईबाट नेपाल फर्किएका हुन्। एसिया कपका कारण उनले सुदूरपश्चिमको पहिलो खेल गुमाएका थिए।
हिजो नेपाल फर्किएपछि उनले आज टोलीका लागि महत्वपूर्ण प्रदर्शन गरे अनि प्लेयर अफ दि म्याच भए। उनले मंगलबार एसिया कपमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गर्दा टोलीका लागि सर्वाधिक स्कोर बनाएका थिए। अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा उनले आठौं नम्बरमा ब्याटिङ गर्दै २६ रन जोडेका थिए।
१८ वर्षीय नरेन नेपालको यू-१९ टोलीका साथै सुदूरपश्चिमको यू-१९ र सिनियर टोलीबाट घरेलु क्रिकेट खेल्छन्। डोटीका बायाँ हाते अर्थोडक्स बलर नरेनले एनपिएलको डेब्यू खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि आफ्ना कप्तान दिपेन्द्रसिंह ऐरी र प्रशिक्षक जगत टमाटालाई धन्यवाद दिए।
उनले भने, ‘दिप्पी दाइ र जगत गुरूलाई धन्यवाद भन्न चाहन्छु। किनभने उहाँहरूले धेरै हुटिङ गर्नु भएको थियो। उहाँहरूको हुटिङले मलाई जोश दियो।’ हिजो युएईबाट नेपाल फर्किएपछि एनपिएलमा प्लेयर अफ दि म्याच बन्ने योजना बनाएको नरेनले सुनाए।
उनले भने, ‘मैले प्लेयर अफ दि म्याच लिन्छु-लिन्छु भनेर हिजो राति नै योजना बनाइसकेको थिएँ। भलै होस् वा नहोस्।’ काठमाडौंविरूद्ध लिएका पाँच विकेटमध्ये नामिबियन ब्याटर इरासमसको विकेट आफूलाई सबैभन्दा मन परेको विकेट भएको उनले बताए।उनले इरासमसलाई आठौं ओभरको चौथो बलमा एलबिडब्लूको धरापमा पारेका थिए।
‘पाँच विकेटमध्ये इरासमसको विकेट मन परेको विकेट हो। किनभने उसले छक्का हानेलगत्तै विकेट लिन सफल भएँ,’ उनले भने। इरासमसको विकेट लिएपछि उनले ठूलो सेलिब्रेसन गरेका थिए। पहिलो खेलमा पाँच विकेट लिएपछि ठूलो उत्प्रेरणा मिलेको उनको भनाइ छ।
एसिया कपमा उनले अफगानिस्ताविरूद्ध राम्रो ब्याटिङ गरे पनि तीन खेलमा एक विकेट मात्र लिन सफल भए। उनले श्रीलंकाविरूद्धको पहिलो खेलमा एक विकेट लिँदा बंगलादेश र अफगानिस्तानविरूद्ध विकेट लिन सकेका थिएनन्।
‘यू-१९ एसिया कपमा विकेट आएको थिएन। अफगानिस्तानविरूद्धको अन्तिम खेलमा पनि राम्रो बलिङ भएको थिएन। १२४ रनको लक्ष्य भए पनि नेपालको ब्याटिङ धरासायी भएको थियो। त्यसैले प्रशिक्षक शक्ति गौचनले तिमीले खेल जिताउनु पर्छ भन्नु भएको थियो। त्यहीअनुसार खेलेर नेपालको जितमा योगदान दिएँ,’ उनले नेपालले अफगानिस्तानलाई एसिया कपमा हराएको खेलबारे भने।















