विलियम र देवको अर्धशतकमा कर्णालीले विराटनगर‍लाई दियो मध्यम लक्ष्य

Image

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्ससामु १ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १ सय ३३ रन बनाएको हो ।

टोलीका लागि विलियम बोसिस्टोले सर्वाधिक ६६ रनको योगदान दिए । क्रिस सोलको बलमा आउट हुनअघि उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै, देव खनालले पनि अर्धशतकीय इनिङ्स खेले । खनालले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गरे । अन्य खेलाडीले भने दोहोरो अंकमा पनि रन जोड्न सकेनन् ।

विराटनगरका लागि प्रतिश जिसीले ४ विकेट लिए । बसिर अहमदले ४ ओभर बलिङ गर्दै २२ रन खर्चेर २ विकेट हात पारे । त्यस्तै क्रिस सोलले पनि ४ ओभरमा २५ खर्चेर २ विकेट लिए ।

कर्णाली र विराटनगर दुवैको यो चौथो खेल हो । यसअघि दुवै टोलीले १ खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो । कर्णाली जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजसँग पराजित भएको थियो भने चितवन राइनोजलाई हराएको थियो ।

उता विराटनगर पहिलो खेलमा नै जनकपुर बोल्ट्ससँग स्तब्ध भएको थियो भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग हार्न पुगेको थियो । तेस्रो खेलमा भने टोलीले लुम्बिनीलाई पराजित गर्न सफल भएको थियो ।