सुदूरपश्चिम रोयल्सलाई लाग्यो ठुलो झट्का, यी चर्चित खेलाडीले एनपीएलका बाँकी खेल नखेल्ने

Image

काठमाडौं । यूएईका अलराउन्डर खेलाडी रोहन मुस्तफाले नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेल नखेल्ने भएका छन्। सुदूरपश्चिम रोयल्सको टिममा रहेका उनले एनपीएल बाँकी खेल नखेल्ने टिमका प्रशिक्षक जगत टमाटाले जानकारी दिए।

मुस्तफा पारिवारिक समस्याका कारण घर जान लागेको र उनको ठाउँका अर्को खेलाडी ल्याइसकेको टमाटाले खेलपछिको पत्रकार सम्मेलनमा बताए। मुस्तफाको ठाउँमा नयाँ खेलाडी ल्याइसकेको प्रशिक्षक टमाटाले बताए ।

‘मुस्तफाले फ्यामिलि प्रोब्लमका कारण घर जान्छु भनेपछि हामीले उसको ठाउँको अरु प्लेयरहरु ल्याइसकेका छौँ,’ टमाटाले भने, ‘घर गएर फर्कने समय नै नहुने भएकाले उहाँ अब आउनुहुन्न।’

मुस्तफाले जारी एनपिएलमा एउटा खेल खेले । काठमाडौं गुर्खाजविरुद्ध खेलिएको उक्त म्याचमा मुस्तफाले ब्याटिङमा चार रन तथा बलिङमा एक ओभरमा बिनाविकेट ८ रन दिएका थिए ।

उनले शनिबारको खेलमा भने प्लेइङ–११ मा मौका पाएनन् । यस खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनले हरायो । जारी एनपिएलमा सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो ।