एनपीएलमा सुदूरपश्चिमको रोएलको उडान, मैदानमा तुफान

Image

काठमाडौं । लगातार तीन खेलमा लगातार तीन जित अनि ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा । दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा एकपछि उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो तुफान भर्दैछ ।

सुदूरपश्चिम रोएल्सले मैदानमा तुफान चलाइरहेको छ । अहिलेसम्म खेलेको तीन खेलमा आरामदायी जित हात पारेको छ । मैदानमा तुफान सुदूरको सान भन्ने नारा जस्तै सुदूरपश्चिम रोएल्सले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

सुदूरपश्चिमले शनिवार भएको खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ । जनकपुर बोल्ट्स समान अपराजित रहँदै ६ अंक जोडेको सुदूरपश्चिम नेटरनरेटमा पनि अगाडि छ र शीर्ष स्थानमा उक्लेको छ । ब्याटिङ र बलिङ दुवैमा सुदूरपश्चिम टिम उत्कृष्ट देखिएको छ ।

इंग्लिस खेलाडी सैफ अली जैबको ९० रन मद्दतमा सुदूरपश्चिमले लुम्बिनीविरुद्ध ४ विकेट गुमाएर १८७ रन बनाएको थियो । बलिङमा पनि जैबसहित ब्राण्डन म्याकमुलेनले समान ३ तथा स्कट कुगेलेइनले २ विकेट लिएपछि सुदूरशले लुम्बिनीलाई १४२/९ रनमै रोकेर जित हात पारेको हो ।

मुख्य प्रशिक्षक जगत टमाटाले सबैले आफ्नो भूमिका अनुसार खेलेकोले नै जित सम्भव भएको बताए । ‘सबैलाई आफ्नो रोल दिएको छ । राम्रो गर्‍यो । विनोद र सैफ जैबले सुरुमा राम्रो पार्टनरसिफ गरे । जैबले खेल कन्ट्रोल गर्‍यो’ खेलपछि पोष्ट म्याच प्रेस कन्फ्रेन्समा टमाटाले भने, ‘बलिङमा स्कटले पावर प्लेमा छिटो भन्दा छिटो विकेट निकाल्यो र दबाबमा आयो । जितको पछाडि सबै टिम मेम्बर र सपोर्टिङ स्टाफको रोल छ ।’

ब्याटिङ बलिङ जे आएपनि खेल्नुपर्छ भन्ने योजना अनुसार नै तयार रहेको टमाटाले बताए । ‘सुरुमा जे परेपनि खेल्ने भन्ने थियो । ब्याटिङ पायो राम्रो भयो । सुरुवात राम्रो गर्‍यौँ र मोमेन्टम पायौँ । सुरुको दुई पर्टनरसिप राम्रो भयो । सैफ जैबले ब्रिटियन्ट खेल्यो,’ उनले भने, ‘विनोदको कन्फिडेन्स हाई छ जसरी खेलिराछ । उसलाई जुन रोल देको छ त्यसमा राम्रो गरिराछ’ उनले भने ।

टमाटाले यो विकेटमा १६०-१७० सम्म सोचेको र राम्रो खेल्दा १० रन जति बोनस पाएको बताए ।

उनले टिमको नारा अनुसार नै खेल भएको र खेलेरै जितेको बताए । ‘सुदूरको सान, मैदानमा तुफान’ यो हाम्रो स्लोगन नै भइहाल्यो । हामीलाई मैदानमा आएर समर्थन गर्नुहुने जति पनि हाम्रो फ्यान छ उहाँहरुलाई टिम र मेरोतर्फबाट धन्यवाद । सुदूरले राम्रो खेलेर जितेको हो ।’

सैफ जैबको अलराउण्ड प्रदर्शन

लुम्बिनी विरुद्ध जितमा सुदूरपश्चिमका सैफ जैबले अलराउण्ड प्रदर्शन गरे । ब्याट र बल दुवैमा छाएका उनी प्लेअर अफ दि म्याच पनि बने ।

यी इंग्लिस अलराउण्डर धेरैका लागि नयाँ नाम हुन सक्छ । तर उनले इंग्ल्याण्डको काउन्टी क्रिकेटमा भने उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । त्यस्तै प्रदर्शन एनपीएलमा पनि देखाइरहेका छन् । मिडल अर्डरमा खेल्ने भएपनि जैब अहिले एनपीएलमा ओपनिङ गरिरहेका छन् र उनी फिनिसिङको भूमिका समेत निभाउन सक्छन् ।

शनिबार लुम्बिनीविरुद्ध पनि उनले विनोद भण्डारीसँग ओपनिङ गरे । टिमका लागि सर्वाधिक ९० रन बनाए । ६१ बल खेल्दै ६ चौका र ५ छक्का प्रहार गरे ।

त्यतिमात्र होइन उनले तीन खेलाडीसँग महत्वपूर्ण साझेदारी गरे । जसले गर्दा सुदूरपश्चिमले राम्रो स्कोर बनाएको थियो ।

जैबले पहिलो विकेटका लागि विनोद भण्डारीसँग ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । विनोद आउट भएपछि उनले ब्राण्डन म्याकमुलेनसँग ५७ रनको अर्धशतकिय साझेदारी गरे । म्याकमुलेन पनि आउट भएपछि जैबले कप्तान दीपेन्द्र सिंह ऐरीसँग ५३ रनको अर्को अर्धशतकिय साझेदारी गरे ।

शतकतर्फ लम्बिरहेका जैब १८औं ओभरमा रामोन सिमोण्ड्सको बलमा उन्मुक्त चन्दबाट क्याच आउट भए । कप्तान दीपेन्द्रले पनि उत्कृष्ट ब्याटिङ गर्दै १९ बलमै नटआउट ३९ रन बनाउ । जसमा ४ चौका र २ छक्का समावेश थियो ।

म्याकुमलेनले २३ र विनोदले १७ रन बनाए । अर्का विदेशी खेलाडी स्कट कुगेलेइनले ६ बलमा १ छक्का प्रहार गर्दै अविजित ११ रन जोडे । जैब यतिमै रोकिएनन् । बलिङमा पनि चार ओभर कोटा फालेका उनले ३ विकेट लिए । त्यसका लागि ३३ रन खर्चिए ।

बलिङमा प्रभावशाली विदेशी खेलाडी

ब्याटिङमा मात्र होइन बलिङमा पनि सुदूरपश्चिमका लागि विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । तीन विदेशी खेलाडी मिलेर कूल ८ विकेट लिए ।

स्कट कुगेलेइन र ब्राण्डन म्याकुलेनले नयाँ बलमा लुम्बिनीको टप अर्डर ध्वस्त पारेका थिए । यी दुईले ३.३ ओभरमै लुम्बिनीको ५ विकेट लिएका थिए ।

न्युजिल्याण्डका स्कटले पहिलो ओभरको पहिलो बलमै अर्जुन साउद र अन्तिम बलमा उन्मुक्तलाई आउट गरे ।

त्यसपछि म्याकमुलेनले दोस्रो ओभरमा कप्तान रोहित पौडेलललाई आउट गरे । उनै म्याकमुलेनले चौथो ओभरमा टम मुर्स र साद विन जफरको विकेट लिए ।

त्यसपछि भने लुम्बिनी पछि परेको थियो । त्यसपछि सन्दिप जोरा र विवेक यादवले केही सम्हाल्ने प्रयास गरेपनि सुदूरका अविनाश बोहराले ११औं ओभरमा साझेदारी ब्रेक गर्दै सन्दिप जोरालाई आउट गरे ।

त्यसपछि बाँकी काम ब्याटिङका स्टार जैबले गरे । जोरा आउट भएपछि विवेकले दिनेश अधिकारीसँग मिलेर इनिङ्स उकासेका थिए । तर ३६ रनको साझेदारी उनै जैबले १६औं ओभरमा तोडे । तेस्रो बलमा दिनेशलाई आउट गरेका जैबेले त्यही ओभरको अन्तिम बलमा सिमोण्ड्सलाई बोल्ड गरे । त्यसपछि उनले १८औं ओभरको अन्तिम बलमा सूर्य तामाङलाई नरेश बुढाएरबाट उत्कृष्ट क्याच आउट गराए ।

बलिङमा म्याकमुलनेले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । ३ विकेट लिएका जैबेले ४ ओभरमा ३३ रन खर्चे । यस्तै स्कट कुगेलेइनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । १ विकेट अविनाशको नाममा रह्यो ।

सुदूरपश्चिमका लागि हरेक खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । आवश्यक परेका बेला रन हान्ने र विकेट लिन सबै खेलाडी तयार देखिन्छन् । अघिल्लो खेलमा नेपाली युवा स्पीनर नरेन साउदले ५ विकेट लिएका थिए ।

कप्तान दीपेन्द्र आफैँ अलराउण्डर हुन् । उनी ४ ओभर स्पीन मज्जाले फाल्न सक्छन् । शनिबार लुम्बिनीविरुद्ध उनले बलिङ नै गर्नुपरेन ।

लिगअघि बलिङमा केही कमजोर हो कि भन्ने देखिएको सुदूरले अहिले बलिङमा पनि दमदार प्रदर्शन गरिरहेको छ । अलराउण्डरद्वय सैफ जैब र ब्राण्डन म्याकमुलेनल ४-४ ओभर नै बलिङ गर्दा सुदूरशलाई फाइदा भएको छ । त्यसमा स्कट कुगेलेइनले आफ्नो अनुभवको भरपुर सदुपयोग गर्दै नयाँ बलमा सानदार बलिङ गरिरहेका छन् ।

सुदूरका लागि बलिङमा तीनै विदेशी खेलाडीले समान ५ विकेट लिएका छन् । यस बाहेक नरेनले ५ विकेट लिएका छन् । अविनाश बोराहले ६ विकेट लिएका छन् । सर्वाधिक विकेट लिनेमा अविनाश तेस्रो स्थानमा छन् । चितवनका सोहेल तनविरले ८ र जनकपुर बोल्ट्सका ललित राजवंशीले ७ विकेट लिएका छन् ।