हसनको उत्कृष्ट अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो बलियो लक्ष्य

Image

काठमाडौं । हसन एइसाखिलको उत्कृष्ट अर्धशतकमा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई चितवन राइनोजले १ सय ६५ रनको बलियो लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६५ रनको योगफल तयार पारेको छ। चितवनका हसन एइसाखिलले सर्वाधिक ६५ रन जोडे । उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै रवि बोपाराले १८ बल खेल्दै समान २ चौकमा र छक्कामा ३६ रन योगदान गरे । विपिन रावलले १७ र कप्तान कुशल मल्लले १३ रन जोडे । पहिलो पटक ओपनिङ गरेकार सन्तोष कार्की ९ रनमा आउट भए । अमर सिंह राउटेलाले ६ र जान निकोल लफ्टी इटन २ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ब्राण्डन म्याकमुलेन, कप्तान दीपेन्द्र सिंह ऐरी र सैफ अली जैबले १-१ विकेट लिए ।

सुदूरपश्चिम र चितवन दुवैले आफ्नो चौथो खेल खेल्न लागेका हुन् । सुदूरपश्चिम रोयल्स यसअघि खेलिएको तीनवटै खेलमा विजयी भएको छ । चितवन राइनोजले भने तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ ।

सुदूरपश्चिम रोयल्सले आफ्नो पहिलो खेलमा विराटनगर किङ्सलाई ९० रनले हराएको थियो । सुदूरपश्चिम रोयल्सले आफ्नो दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले र तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले हराएको थियो ।

यसैगरी, चितवन राइनोजले आफ्नो पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो । चितवन राइनोजले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । आफ्नो तेस्रो खेलमा भने चितवन राइनोज कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको थियो ।

जारी एनपीएलमा हालसम्म चार खेल खेलेको जनकपुर बोल्ट्स आठ अङ्कसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ । तीन खेल खेलेको सुदूरपश्चिम रोयल्स ६ अङ्कसहित दोस्रो, तीन खेल खेलेको चितवन राइनोज चार अङ्कसहित तेस्रो र चार खेल खेलेको कर्णाली याक्स चार अङ्कसहित चौथो स्थानमा छन् ।

यसैगरी, तीन खेल खेलेको पोखरा एभेन्जर्स दुई अङ्कसहित तालिकाको पाँचौँ, तीन खेल खेलेको काठमाडौँ गुर्खाज दुई अङ्कसहित छैटौँ, चार खेल खेलेको विराटनगर किङ्स दुई अङ्कसहित सातौँ र चार खेल खेलेको लुम्बिनी लायन्स शून्य अङ्कसहित आठौँ स्थानमा आसीन छन् ।