काठमाण्डौ । एसीसी १९ वर्षमुनिको महिला एशिया कपको दोस्रो ‘सुपर–फोर’ मा आज नेपाल र बङ्गलादेश खेल्दैछन् ।
मलेसियाको क्वालालम्पुरमामा रहेको बायोमास आभलमा हुने खेल नेपाली समय अनुसार शुक्रबार बिहान ११:४५ बजे शुरू हुनेछ । यसअघि हिजोको पहिलो ‘सुपर–फोर’ मा नेपाल र श्रीलङ्काबीचको खेल नतिजाविहीन भएको छ ।
वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल नतिजाविहीन भएको हो । नेपाल र श्रीलङ्काले १/१ अङ्क बाँडेका छन् । ‘सुपर–फोर’ अन्तर्गत हिजोको अर्को खेलमा भारतले बङ्गलादेशलाई ८ विकेटले हराएको छ ।
प्रतियोगिताको समूह ‘ए’ बाट भारत र नेपाल तथा समूह ‘बी’ बाट बङ्गलादेश र श्रीलङ्का ‘सुपर–फोर’ मा पुगेका हुन् । ‘सुपर–फोर’ मा शीर्ष दुईमा रहने टोली फाइनलमा पुग्नेछन् । महिला एशिया कपको फाइनल खेल पर्सि आइतवार हुनेछ ।
सुपर–४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । भारत ५ अंकसहित पहिलो, बंगलादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ। पहिलो र दोस्रो स्थानमा रहने टोलीले फाइलन खेल्नेछन्।
आजको खेलमा पराजित भएमा या खेल रद्द भएमा नेपाल फाइनल पुग्न असफल हुनेछ। समूह चरणमा भारतसँग अंक बाडेको नेपालले पाकिस्तानलाई ३ विकेटले पराजित गरेको थियो।















