बैतडी । बैतडीमा जारी प्रधानमन्त्री कप महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट क्रिकेट प्रतियोगिताकाे उपाधिका लागि कञ्चनपुर र बैतडी भिड्ने भएका छन्।
आज सम्पन्न समूह ए अन्तरगतकाे अन्तिम खेलमा दार्चुलालाई ९ विकेटले पराजित गर्दै कञ्चनपुर फाइनलमा पुगेकाे हाे । जितका लागि पाएकाे ८९ रनकाे लक्ष्य कञ्चनपुरले ६.२ ओभरमा १ विकेटको क्षतिमा भेट्टायाे । जसमा रेवती धामीले अविजित ३४ र कप्तान विन्दु रावलले २८ रनकाे याेगदान गरिन्।
यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेकाे दार्चुलाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८८ रन बनायाे । उसका बबिता धामीले अविजित १७ र कमला महराले १६ रन बनाइन्।
कञ्चनपुरका लागि मञ्जु विष्ट र गंगा खड्काले ३/३ विकेट हात पारिन्। कञ्चनपुरले उपाधिका लागि बिहीबार बैतडीसंग भिड्नेछ।बैतडी समूह बी काे विजेता बन्दै फाइनलमा सुरक्षित भएको हाे।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजना र बैतडी जिल्ला क्रिकेट संघको सहआयाेजना पुस १९ गतेदेखि सुरू भएकाे प्रतियोगितामा प्रदेशका ७ टाेलीकाे सहभागीता रहेकाे थियाे।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनाैट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टाेली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले बताए। प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ १ गतेदेखि धनगढीमा हुँदैछ ।















