सन्न्यास फिर्ता लिएर भारतीय राष्ट्रिय टिम फर्किए ४० वर्षीय सुनिल क्षेत्री

Image

अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेको एक वर्ष नपुग्दै सुनिल क्षेत्री पुनः भारतीय राष्ट्रिय टिममा फर्किएका छन् । २० वर्षअघि भारतीय टिमबाट डेब्यू गरेका सुनिलले गत जुनमा सन्न्यासको घोषणा गरेका थिए । तर, उनी यही मार्चमा हुने अन्तर्राष्ट्रिय फिफा विन्डोका निम्ति भारतीय राष्ट्रिय टिममा समावेश भएका हुन् ।

भारतले यस फिफा विन्डोमा एएफसी एसियन कप छनोटको अन्तिम चरणमा बंगलादेशविरुद्ध खेल्दैछ । यो खेल मार्च २५ मा भारतकै सिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा हुने तालिका छ । भारतीय टिमले एएफसी एसियन कपको गत संस्करणमा स्थान बनाएको थियो । तर, सुनिल क्षेत्रीकै कप्तानीमा उत्रिएको उक्त टोलीले समूह चरणका सबै खेलमा हार बेहोरेका थिए ।

भारतीय राष्ट्रिय टिमबाट १५० अन्तर्राष्ट्रिय खेल खेलेका क्षेत्रीले ९४ गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय फुटबलमा चौथो सर्वाधिक गोल गर्ने खेलाडीसमेत हुन् । क्षेत्रीअघि क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र इरानका अली दाइ छन् ।