‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

Image

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो ।

मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर हेभल र दोस्रो हाफमा लाभेर कर्बिन-अंगले गोल गरे ।

खेलपछि बोल्दै नेपालका प्रशिक्षक म्याट रसले मलेसिया जितको हकदार रहेको प्रतिक्रिया दिए । ‘मलेसियाले निकै राम्रो खेल्यो । उनीहरुको गती र प्राविधिक क्षमताविरुद्ध हामीले खेल्न सकेनौं । मलेसिया नै जितको हकदार थियो,’ अष्ट्रेलियाका नागरिक रसले भने ।

‘खेल अघि बढ्दै जाँदा हामीले बल राखेका थियौं । केही आधा अवसर पनि पायौं । तर मलेसियाले निकै राम्रो खेल्यो । हामीले यी दुवै खेलबाट धेरै सिकेका छौं । अब जुनमा हुने खेलमा पक्कै सुधार गरेर आउनेछौं’ पहिलो पटक राष्ट्रिय टोली सम्हालिरहेका रसले थपे ।

नेपालले पहिलो गोल डिफ्लेक्सन र दोस्रो गोल फ्रिकिकमा खाएको थियो । रसले सेट पिसमा टोलीले मिहिनेत गर्नुपर्ने बताए । ‘हामीले खेलअघि पनि सेट पिसमा काम गरेका थियौं । आजको अवस्थाबाट पनि हामीले सिक्नुपर्छ । सेट पिसमा हामी अगाडीदेखि नै सचेत हुन र मानसिक रुपमा बलियो हुनु आवश्यक छ,’ रसले अन्त्य गरे ।

समूह एफमा नेपाल र मलेसियासँगै भिएतनाम र लाओस पनि छन् । अर्को खेलमा भिएतनामले लाओसलाई ५-० ले हराउँदै सानदार सुरुवात गरिसकेको छ । हरेक समूहबाट शीर्षस्थानमा रहने टोलीले एसियन कप खेल्नेछ ।

नेपालले गत साता मैत्रीपूर्ण खेलमा सिंगापुरलाई १-० ले हराएको थियो । उक्त खेलमा जिलेस्पीले गोल गरेका थिए ।