खेलमैदानबाट समुदायको एकता: पदमपोखरी गोस्पल कप २०८२ सुरु

Image

हेटौंडा/ खेलकुद केवल प्रतिस्पर्धा होइन, समुदाय निर्माणको सशक्त माध्यम हो भन्ने कुराको पुष्टि गर्दै “प्रथम पदमपोखरी गोस्पल कप २०८२” आजबाट सुरु भएको छ। गुड फ्राइडे र इस्टर सन्डेको पावन अवसरमा पदमपोखरी १३ नम्बर वडा स्तिथि मिनि रंगशालामा सुरु भएको यस प्रतियोगिताले स्थानीय चर्चहरूबीचको सहकार्य, युवा सहभागिता र सामाजिक एकताको सन्देश फैलाएको छ।

संयुक्त मण्डली पाष्टर एकता तथा जवान एकता संगतिको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा हेटौंडा १२ र १३ नम्बर वडाका विभिन्न आठ चर्च टिमहरूले भाग लिएको खबरवोर्ड मिडियाका रिपोटर बलराम मङ्ग्रातीले जानकारी दिनुभयो। प्रतियोगिता बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ।

उद्घाटन समारोहमा हेटौंडा उपमहानगरपालिका उप–प्रमुख राजेश बानियाँ प्रमुख अतिथि रहनुभएको थियो। मन्जु लामाको सभाध्यक्षता रहेको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष अर्जुन तिवारी,१३ नम्बर वडा अध्यक्ष पेम्बा लामा, एन्फा प्रदेश सदस्य अमृत लुङ्बा र जिल्ला सदस्य आशिष थापाको उपस्थिति रहेको मङ्ग्रातीले जानकारी दिनुभयो।

प्रतियोगिताको पहिलो दिन दुई रोमाञ्चक खेल सम्पन्न भए। पहिलो खेलमा SEN  A ले PGM लाई पेनाल्टी सुटआउटमा पराजित गऱ्यो। दोस्रो खेलमा कलवरी A टिमले JHA लाई ३–० गोलअन्तरले पराजित गर्‍यो। उक्त खेलमा ‘म्यान अफ द म्याच’ आमेन मङ्ग्राती घोषित भए।

आयोजकहरूका अनुसार गोस्पल कप प्रतियोगिता केवल फुटबलमा सीमित छैन; यसले मण्डलीबीचको मेलमिलाप, युवाको आत्मविश्वास र प्रतिभा उजागर गर्ने अवसरसमेत प्रदान गरिरहेको छ। प्रतियोगिताले खेलकुद र विश्वासको संयोजनमार्फत समाजमा सकारात्मक ऊर्जा फैलाउने अपेक्षा गरिएको छ।