हेटौंडा / धार्मिक अवसरलाई खेलकुदमार्फत समुदायमा एकता, सद्भाव र युवा सहभागिताको सशक्त सन्देश दिन सफल भएको “प्रथम पदमपोखरी गोस्पल कप २०८२” सम्पन्न भएको छ।
गुड फ्राइडे र इस्टर सन्डेको सन्दर्भमा आयोजित यस प्रतियोगिता केवल फुटबल खेलको प्रतिस्पर्धा मात्र नभई, स्थानीय चर्चहरूबीचको सहकार्य र सामाजिक ऐक्यबद्धताको उत्कृष्ट उदाहरण बनेको छ।
हेटौंडाको पदमपोखरी मिनि रंगशालामा सम्पन्न प्रतियोगितामा वडा नं. १२ र १३ का विभिन्न आठवटा चर्च टिमहरूको सहभागिता थियो। आयोजक “संयुक्त मण्डली पास्टर एकता तथा जवान एकता सङ्गति” ले खेलमार्फत विश्वास, अनुशासन र भाइचाराको सन्देश प्रवाह गरेको बताएको छ।
फाइनल खेलमा BEC टिमले SEN (A) लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो। निर्धारित समयसम्म दुवै टिमले एक–एक गोल गरेपछि निर्णय पेनाल्टीबाट निकालिएको थियो। विजेता BEC टिमले रु २०,००० नगद पुरस्कार हात पार्यो भने उपविजेता SEN (A) ले रु १०,००० प्राप्त गर्यो।
प्रतियोगितामा व्यक्तिगत प्रदर्शनका आधारमा खेलाडीहरूलाई विभिन्न विधामा सम्मानित गरिएको थियो भने धेरै ट्रफी उपबिजेता टिम SEN A ले हात पारेको थियो ।
जस अनुसार • अनुशासित खेलाडी: रमेश मुक्तान
• सर्वश्रेष्ठ खेलाडी: श्यामुयल सुनार
• गोलकिपर: आमेन मङ्ग्राती
• डिफेन्स: अर्मान योन्जन
समापन समारोहमा नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो भने वडा अध्यक्ष पेम्पा लामा, विभिन्न चर्चका पास्टर तथा सामाजिक अगुवाहरूको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो।
आयोजकहरूका अनुसार, यो प्रतियोगिता युवा पुस्तालाई खेलकुद र सेवामार्फत विश्वासमा बढ्न उत्प्रेरित गर्नुका साथै, समुदायमा प्रेम, सहकार्य र सद्भाव फैलाउने उद्देश्यले गरिएको हो।“खेलकुद केवल शारीरिक प्रतिस्पर्धा होइन, यो हाम्रो विश्वास, भाइचारा र सेवाको अभिव्यक्ति पनि हो,” आयोजक प्रतिनिधिले भने।
— बलराम मङ्ग्राती
(खबरबोर्ड मिडिया)