काठमाडौं ।
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई लक्षित गरी बम्पर अफर ल्याएको छ । जस अन्तर्गत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कोलरसिपमा अध्ययन गर्न पाउनेछन् ।
यस अफर अनुसार विद्यार्थीहरुले ईसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ । ईसेवा एप मार्फत आफूले अध्ययन गर्न चाहेको कलेज छानेर पढ्न चाहेको विषय रोज्नु पर्नेछ । यसका लागि विद्यार्थीले १० रुपैयाँ तिरेर आवेदन दिन सकिने छ भने यसमा उनीहरुले १० प्रतिशत क्यासब्याक पाउनेछन् ।
कम्पनीका अनुसार यस योजनामा सहभागी हुन विद्यार्थीले आफ्नो मार्कसिट र चारित्रिक प्रमाणपत्र समावेश गर्नुपर्नेछ । कुन कलेजमा पढ्ने भन्ने कुरा ब्लग डट ईसेवा डटकम डट एनपीमा हेर्न सकिनेछ । विद्यार्थीले ईसेवाको कल सेन्टरमा सम्पर्क गरेर पनि थप जानकारी लिन सक्नेछन् ।
यो पनि : एसइईमा उत्कृष्ट अंक ल्याउनेलाई एक लाख पुरस्कार
केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइईमा सबैभन्दा बढी अंक ल्याउने गाउँपालिकाभित्रका दुई विद्यार्थीलाई एक/एक लाख नगद पुरस्कार प्रदान गर्ने भएको छ ।
गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट एसइई दिएकामध्येमा सबैभन्दा बढी अंक ल्याउने एक छात्र र एक छात्रालाई गाउँपालिकाले नगद पुरस्कार प्रदान गर्ने भएको हो ।
विद्यार्थीलाई सामुदायिक विद्यालयमा पढ्न अझ अभिप्रेरित गर्ने उद्देश्यले एसइईमा सबैभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई पुरस्कारको व्यवस्था गरिएको गाउँपालिका प्रमुख समिर राईले बताए ।
विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रम गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गरिएको छ । यस्तै एसइई दिएका गाउँपालिकाभरिका गरिब तथा जेहेन्दार दुई छात्र/छात्रालाई गाउँपालिकाले पढाउने भएको छ ।
उनीहरूका लागि गाउँपालिकाले १८ महिने प्राविधिक शिक्षा अध्ययनको व्यवस्था मिलाउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । एसइईमा सबैभन्दा बढी अंक ल्याउने दुई विद्यार्थी र गरिब तथा जेहेन्दार दुई विद्यार्थी पहिचान गर्ने कामको थालनीसमेत गरिएको गाउँपालिकाले जनाएको छ ।
उनीहरूलाई आगामी भदौ २३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सार्वजनिक गरेर पुरस्कार प्रदान गरिने जनाइएको छ । २०७८ को एसइईमा गाउँपालिकाको सातवटा सामुदायिक विद्यालयबाट २ सय ५२ विद्यार्थीले परीक्षा दिएका थिए ।
पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण घट्दै गएपछि त्यसलाई रोक्न गाउँपालिकाले विद्यार्थी प्रोत्साहन कार्यक्रम गाउँसभाबाटै पारित गरेर ल्याएको हो ।
गत वैशाख ९ गतेबाट २० गतेसम्म देशभर सञ्चालन भएको एसइई परीक्षाको नतिजा गत साउन ११ गते सार्वजनिक भइसकेको छ । जिल्लाबाट ३ हजार ८ सय ९ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए ।