हेटौंडा ७ मा विधुतको तार खसेर एकै परिवारका ३ जना घाईते

Image

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ स्थित नागसोती शान्तिटोलमा मङ्गलबार साँझ करेन्ट लागेर एकै परिवारका तीन जना घाइते भएका छन्। असार १७ गते साँझ ५:४५ बजेको समयमा घटनास्थलमा विद्युत् प्राविधिकले पोलमा काम गरिरहेका बेला अचानक विद्युत् तार खसेर सडकमा हिँडिरहेका व्यक्तिहरूमा करेन्ट लागेको हो।

घटनामा परेर ४६ वर्षीय सञ्चयकुमार पुडासैनी गम्भीर घाइते भएका छन्। करेन्टले दुबै खुट्टा जलेको अवस्थामा उनी बोल्न नसक्ने अवस्थामा छन्। उनीसँगै रहेकी उनकी ४४ वर्षीया श्रीमती लक्ष्मी पुडासैनी र १ वर्षीया नातिनी श्रीयाना पुडासैनी पनि घाइते भएका छन्। लक्ष्मी र श्रीयानाको दुबै हातखुट्टामा जलन रहेको र अवस्था मध्यम रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालय हेटौडाका डिएसपी श्यामु अर्यालले बताउनुभयो।

घाइतेहरूलाई सुरुमा हेटौंडा अस्पतालमा ल्याइए पनि थप उपचारका लागि साँझ ७ बजे भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ। घटनापछि स्थानीय प्रहरीले अनुसन्धानका लागि इलाका प्रहरी चौकी हरियालीबाट टोली परिचालन गरेको अर्यालले जानकारी दिनुभयो।

घटनाको सूचना घाइते सञ्चयकुमारका दाजु हरिशरण पुडासैनीमार्फत प्राप्त भएको जनाइएको छ। विद्युत् तार मर्मतको क्रममा लापरवाही भएको आशङ्का गरिँदै यसबारे विस्तृत छानबिन भइरहेको प्रहरीले जनाएको छ।