काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाले आज सोमबारको मौसमबारे जानकारी दिएको छ। आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाइएको छ।
हाल गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ। देशका उच्च हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
यस्तै तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।आज दिउँसो मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् बरूण पौडेलले जानकारी दिए।
आज राति प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।बिहान काठमाडौं उपत्यकासहितका स्थानमा लागेको हुस्सु क्रमशः हट्दै गएको पौडेलले जानकारी दिए।
भोलि र पर्सी प्रदेश १ का हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमपात तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने र तराईका केही भू-भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।