Khabar Board

दुई/तीन दिनमा देशभर वर्षा, कुन-कुनमा छ बढी सम्भावना?

काठमाडौं । कोसीदेखि गण्डकी प्रदेशसम्म हाल मनसुन प्रणाली सक्रिय छ । मनसुनका कारण बदली (आकाशमा बादल) र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी प्रदेशमा पनि मनसुन प्रवेश गरिसकेको छ । तर, लुम्बिनीका सबै भूभागमा मनसुनको प्रभाव छैन । “पूर्वी र मध्य क्षेत्र (कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेश)मा मनसुन सक्रिय छ,” महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बाह्रखरीसित भने, “लुम्बिनीको पनि पूर्वी क्षेत्रमा मनसुको प्रभाव छ । अरू भूभागमा छैन ।”

अबका दुई/तीन दिनमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि मनसुनको प्रभाव पर्न सक्ने उनले बताए । वर्षा गराउने जलवाष्पयुक्त हावा (बादल) ती प्रदेशमा पुग्न बाँकी नै रहेको उनले स्पष्ट पारे ।

“जलवाष्पयुक्त हावा पूर्वबाट पश्चिमतिर बहने हो । कर्णाली र सुदूरपश्चिममा त्यो पुगेको छैन,” उनले भने, “अब दुई/तीन दिनमा त्यहाँ पनि जलवाष्पयुक्त हावाको प्रभाव देखिन सक्छ ।”

कुनै स्थानमा मनसुन प्रणाली पुगे/नपुगेको घोषणा गर्न महाशाखाले दुई/तीन विषयलाई आधार मान्ने उनले बताए । पर्याप्त आधारपछि त्यसबारे विशेष बुलेटिनमार्फत जानकारी गराइने उनले सुनाए ।

यो वर्षको मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ हो । सरदर मितिभन्दा तीन दिन छिटो गरी मनसुन नेपालमा प्रवेश गरेको थियो । हिन्द महासागरबाट विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वी दिशाबाट मनसुन नेपाल प्रवेश गर्ने गर्छ ।

जुन, जुलाई, अगस्ट र सेप्टेम्बरलाई मनसुन अवधि मानिन्छ । यो अवधिमा वर्षभरि हुने कुल वर्षाको ८० प्रतिशत पानी पर्ने मौसमविद्को भनाइ छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.