पछिल्ला केही दिनयता देशभर गर्मीको तीव्रता बढ्दै गएको छ। विशेषगरी तराई–मधेशका जिल्लाहरूमा अत्यधिक तापक्रमका कारण जनजीवन प्रभावित हुन थालेको छ।
पश्चिम तराईको धनगढीमा हिजो अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस पुगेको र आज त्यो ४० डिग्रीसम्म पुग्ने अनुमान गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो। यस्तै, दिपायल, नेपालगञ्ज, भैरहवा लगायतका शहरहरूमा तापक्रम ३८ डिग्री नाघेको छ भने जनकपुरमा पनि ३५ डिग्रीभन्दा माथि पुगेको छ।
बढ्दो तापक्रमका कारण तराई–मधेश क्षेत्रमा केही दिनभित्र तातो हावा (लू) चल्ने सम्भावना रहेको मौसमविद् मानन्धरको भनाइ छ। लगातार बढिरहेको गर्मीले विद्यालय, अस्पताल, निर्माणकार्य र सार्वजनिक गतिविधिमा असर पुर्याउन थालेको छ।
काठमाडौँ उपत्यकामा पनि गर्मी तीव्र हुँदै गएको छ। हिजो उपत्यकाको अधिकतम तापक्रम ३१ डिग्री पुगेको थियो भने आज ३० देखि ३२ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ।
देशभर तापक्रम अझै बढ्दै जाने र तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, केही पहाडी र हिमाली क्षेत्रहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको उल्लेख गरिएको छ।
महाशाखाका अनुसार हाल स्थानीय र पश्चिमी वायु प्रणालीको प्रभावले तराई क्षेत्रमा मौसम आंशिक बदली भई मुख्यतया सफा रहनेछ।