काठमाडौँ। असोज १ गते मनाइने विश्वकर्मा जयन्ती नै नेपाल र नेपाली संस्कृति सुहाउँदो वास्तविक श्रमिक दिवस भएको राष्ट्रिय श्रमिक महासंघ नेपालका महासचिव गोपाल यादवले बताएका छन्। महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
गौशलास्थित कार्यालयमा भएको कार्यक्रममा बोल्दै महासचिव यादवले पश्चिमा देशको आन्दोलनबाट आएको मई दिवस (मे १) भन्दा हाम्रो आफ्नै पूर्वीय दर्शन, श्रम र औजारको पूजा गर्ने विश्वकर्मा जयन्ती नै नेपाली श्रमिकको सही पहिचान भएको बताए।
मई दिवसबारे बोल्दै उनले भने, “मई दिवस सन् १८८६ मा अमेरिकाको सिकागोमा भएको हिंसात्मक आन्दोलनको सम्झनामा मनाउन थालिएको हो। यसले मालिक र मजदूरबिच शत्रुता र झगडा मात्र बढाउँछ।”
हाम्रो पूर्वीय विचारले उद्योगलाई एउटा परिवार मान्ने भन्दै यादवले हिन्दू संस्कृतिले मालिक र मजदूरलाई परिवारका सदस्यका रूपमा हेर्ने बताए। पश्चिमा आन्दोलनले मजदूरलाई राम्रो काममा लगाउनुको सट्टा राजनीतिक स्वार्थका लागि उचाल्ने काम मात्र गर्ने उनको भनाइ थियो।
कार्यक्रमका प्रमुख अतिथि हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय चालक कल्याण कुमार तिम्सिनाले देशको हितका लागि मिलेर काम गर्नुपर्ने बताए। उनले जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि आफ्नो काम र लक्ष्यमा लागिरहन आग्रह गरे।
विभिन्न क्षेत्रका श्रमिक र प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा वक्ताहरूले नेपाली श्रम संस्कृतिको जोगगेर्ना गर्दै देशको उत्पादन बढाउनुपर्नेमा जोड दिएका थिए।











