काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत शनिबार जारी खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्ससामु जितका लागि १६७ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रनको योगफल तयार पारेको हो।
विराटनगरका लागि श्रीलंकन अलराउन्डर चरिथ असलंकाले सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ्स खेले। आक्रामक ब्याटिङ गरेका उनले ४३ बलको सामना गर्दै १ चौका र ६ छक्का प्रहार गरे। त्यस्तै, शुभम रञ्जनले २४ बलमा ४ चौकाको मद्दतले ३१ रनको महत्वपूर्ण योगदान दिए।
सुरुवाती ओभरमा ओपनर लोकेश बमले १७ बलमा १५ रन बनाएर आउट भएपछि इमरान शेखले २९ बलमा २४ रन र असलंकाले इनिङ्स सम्हालेका थिए। अन्तिम ओभरहरूमा इसुरु उडानाले ३ बलमा ६ रन र बसिर अहमदले २ बलमा अविजित ६ रनले तीव्र गतिमा रन जोड्दै टोलीलाई सम्मानजनक स्थितिमा पुर्याए।
लुम्बिनी लायन्सका लागि बलिङतर्फ किशोर महतोले सर्वाधिक २ विकेट लिए। उनले ४ ओभरमा २४ रन खर्चिए। यस्तै, अभिषेक गौतमले ३ ओभरमा १५ रन र रुबेन ट्रम्पेलम्यानले ४ ओभरमा ५२ रनले समान १–१ विकेट हात पारे। किफायती बलिङ गरेका शेर मल्लले ४ ओभरमा २२ रन दिए पनि विकेट लिन सकेनन्।
लिग चरणको ६ खेलबाट ६ अंक जोडेर तालिकाको पाँचौं स्थानमा रहेको विराटनगरलाई प्लेअफको दौडमा जीवित रहन आजको खेल जित्नैपर्ने दबाब छ। अर्कोतर्फ, प्लेअफमा सुरक्षित भइसकेको लुम्बिनी लायन्सविरुद्ध १६७ रनको लक्ष्य बचाउन विराटनगरका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ।
















