काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले लगातार ६ खेलमा पराजय बेहोरेको छ । इतिहासकै खराब प्रदर्शन गरेपछि टिम कप्तान रोहित शर्मा निराश छन् ।
आईपीएल इतिहासकै सबैभन्दा सफल टोलीले ६ खेलमा लगातार हार बेहोरेपछि रोहितलाई पीर पर्नु स्वभाविक हो । निरन्तरको हारपछि मुम्बई १० टोली सम्मिलित प्रतियोगिताको सबैभन्दा पुछारमा छ ।
अहिलेसम्म अंकको खाता खोल्न नसके पनि मुम्बई कीर्तिमानी पाँच पटकको विजेता टोली पनि हो । यी सबै खराब स्थितिका बाबजुद पनि रोहितले आश भने मारेका छैनन् । उनी भन्छन्, ‘सबै समाप्त भइसकेको जस्तो गरेर दुःख मान्न पनि आवश्यक छैन । अझै धेरै खेल बाँकी छन् ।’
३४ वर्षीय रोहित अगाडि थप्छन्, ‘पक्कै पनि हाम्रो लागि सबथोक सकिएको स्थिति होइन । हामीलाई राम्रो खेल्नु छ र जित्नु छ । यसका लागि कडा मिहिनेत भने गर्नुपर्छ ।’ उनले मुम्बई हारको जिम्मेवारी लिन आफू तयार रहेको पनि बताए ।
‘इमान्दारितापूर्वक भन्दा मैले टोलीका लागि सबै काम गरिरहेको छु, जित मात्र निस्किरहेको छैन । यो सबै स्थितिको जिम्मेवार म आफैँ पनि हुँ,’ रोहितले भने, ‘मैले आफ्नो दायित्व पनि भुलेको छैन । क्रिकेट खेल्न थालेको लामो समय भइसकेको छ, त्यसैले मलाई अब के गर्नुपर्छ, त्यो पनि थाहा छ ।’ उनले बाँकी खेलमा जित निकाल्नु नै आफूहरूको मुख्य लक्ष्य रहेको पनि बताए ।
















