काठमाडौं ।
अफगानिस्तानका स्पिनर राशिद खानले भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा नयाँ उपलब्धि हासिल गरेका छन् । उनले आईपीएलमा सर्वाधिक छिटो १०० विकेट लिने पहिलो विदेशी स्पिनर बन्दै नयाँ उपलब्धि हासिल गरेका हुन् ।
राशिदले यो उपलब्धि शनिबार कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्ध हासिल गरे । गुजरात टाइटन्सबाट लिग खेलिरहेका उनले वैंकटेश अय्यरलाई आउट गर्दै आईपीएलमा छिटो १०० विकेट लिने पहिलो विदेशी स्पिनरको रेकर्ड बनाए ।
राशिदले ८३ आईपीएल खेलमा १०० विकेट लिए । त्यस्तै, स्पिनर अमित मिश्रा र तीव्र गतिका बलर आशिष नेहराले पनि ८३ बलमा आईपीएलमा १०० विकेट लिएका थिए । उनीहरूभन्दा अगाडि लसिथ मलिंगा छन् । उनले ७० खेलमा १०० विकेट लिएका थिए । भारतीय तीव्र गतिका बलर भुवनेश्वर कुमारले ८२ खेलमा आईपीएलमा १०० विकेट लिएका थिए ।
राशिदले चहल र नारायणलाई पछि पारे
राशिदले स्टार स्पिनरद्वय युजवेन्द्र चहल र सुनिल नारायणलाई पछि पारेका छन् । उनीहरूले आईपीएलमा ८४ खेलमा १०० विकेट लिएका थिए । नारायणले ८६ खेलमा यो उपलब्धि हासिल गरेका थिए । अब यी दुवै स्टारलाई राशिदले पछि पारेका छन् ।
कोलकातामाथि गुजरातको छैटौँ जित
आईपीएलमा गुजरात टाइटन्सले छैटौँ जित निकालेको छ । शनिबार सम्पन्न पहिलो खेलमा केकेआरलाई ८ रनले हराउँदै गुजरातले छैटौं जित निकालेको हो । कोलकाताको भने यो पाँचौँ हार हो । आफ्नो आठौँ खेलमा गुजरातले दिएको १५७ रनको लक्ष्य पछ्याएको केकेआरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो ।
उसका लागि आन्द्रे रसेलले आक्रामक ब्याटिङ गरे पनि टिमलाई जित दिलाउन भने चुके । उनले २५ बलमा ६ छक्का र एक चौकासहित ४८ रन बनाए । त्यस्तै, रिंकु सिंह ३५, वैंकटेश अय्यर १७ र कप्तान श्रेयस अय्यरले १३ रनमा आउट भए । उमेश यादव १५ रनमा अविजित रहे ।
गुजरातका मोहम्मद शामी, यस दयाल, राशिद खानले दुई/दुई, लकी फर्गुसन र अल्जारी जोसेफले एक/एक विकेट हात पारे । त्यसअघि मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५६ रन बनायो ।
उसका लागि कप्तान हार्दिक पाण्ड्याले अर्धशतकीय पारी खेले । उनले ४९ बलमा चार चौका र दुई छक्कासहित ६७ रन बनाए । योसँगै हार्दिक गुजरातका लागि एकै सिजनमा लगातार तीन अर्धशतकीय पारी खेल्ने रेकर्ड बनाएका छन् ।
त्यस्तै, डेविड मिलरले २७, ऋद्धिमान साहले २६ र राहुल तेवटियाले १७ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा कोलकाताका लागि आन्द्रे रसेल र टिम साउथीले उत्कृष्ट प्रदर्शन गरे । रसेलले एक ओभरमा ५ रन दिएर ४ विकेट लिए ।
योसँगै उनले आईपीएलमा इतिहास रचेका छन् । रसेलले अन्तिम ओभरमा चार विकेट बलर बन्दै इतिहास रचेका हुन् । उनलाई अन्तिम ओभरमा ह्याट्रिक लिने मौका थियो । तर, त्यसमा भने रसेल चुके ।
त्यस्तै, साउथीले ४ ओेभरमा २४ रन दिएर ३ विकेट हात पारे । शिवम् मावी र उमेश यादवले एक/एक विकेट बाँडे । यो जितसँगै गुजरात फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले सात म्याच खेल्दा एक खेलमा मात्र हार बेहोरेको छ ।
केकेआर अंक तालिकाको सातौँ स्थानमा छ । उसले आठ म्याच खेल्दा तीन खेलमा मात्र जित हात पारेको छ । त्यस्तै, अंक तालिकाको दोस्रोमा राजस्थान, तेस्रोमा बैंग्लोर, चौथोमा लखनउ, पाँचौँमा हैदराबाद, छैटौँमा दिल्ली, आठौँमा पञ्जाब, नवौँमा चेन्नई र दशौँमा चेन्नई रहेका छन् ।

















