खेलाडीले दैनिक २ हजार रुपैयाँ भत्ता पाउने

Image

काठमाडौं ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीले दैनिक २ हजार रुपैयाँ भत्ता पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीले दैनिक २ हजार रुपैयाँ भत्ता पाउने भएका हुन् ।

२०७६ सालमा सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुदमा खेलाडीले दैनिक १४ सय रुपैयाँ भत्ता पाएका थिए । गण्डकीमा हुने नवौं राष्ट्रिय खेलकुदमा खेलाडीले खानपिन र बसोबासका लागि २ हजार रुपैयाँ भत्ता पाउने भएका हुन् । ‘पोखरा पर्यटकीय क्षेत्र पनि हो । समय अनुसार पनि रकममा केही वृद्धि हुन्छ । सोही कारण नवौं राष्ट्रिय खेलकुदमा खेलाडी र अफिसियलका लागि दैनिक २ हजार भत्ता निर्धारण गरिएको छ ।’ नवौंको कार्यकारी समितिका सदस्य सचिव फनिन्द्र पौडेलले खेलपाटीसँग भने ।

पौडेलका अनुसार भत्ताको समय अवधि खेलाडी सहभागी हुने इभेन्टको अघिल्लो दिनबाट सुरु भएर प्रतिस्पर्धा सकिएको भोलिपल्टसम्म लागु हुनेछ । ‘खेलाडी सहभागी हुने इभेन्ट सुरु भएको अघिल्लो दिनदेखि खेलाडीको चुनौती समाप्त भएको भोलिपल्टसम्म खेलाडीले दैनिक भत्ता प्राप्त गर्नेछन् ।’ पौडेलले भने ।

सरकारले तयार गरेको राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिकामा खेलाडी भत्ताको विषय उल्लेख गरेको छैन । निर्देशिकाको आर्थिक व्यवस्थापनमा परिषदले प्रतियोगितामा सहभागी हुने अफिसियल, खेलाडी, कर्मचारी, विज्ञ, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक र निर्णायकहरुलाई अर्थ मन्त्रालयको सहमतिमा मन्त्रालयले तोके बमोजिम पारिश्रमिक, भत्ता एवं अन्य सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ ।

कार्यकारी समितिका सदस्य सचिव पौडेलले नवौं राष्ट्रिय खेलकुदमा करिब ७ हजार १ सय ९० खेलाडी, १२ सय प्रशिक्षक र हजार जना रेफ्री सहभागी हुने बताए । गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुदैछ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम र एक गैर आवसीय नेपाली संघ –एनआरएनए)को टिम सहभागी हुनेछन् ।

यो पनि : नेपालले अष्ट्रेलियामा क्रिकेट खेल्ने, यस्तो छ खेल तालिका

यो पनि ; नेपालले कहिले पाउला नयाँ मुख्य प्रशिक्षक ? बाहिरियो यस्तो खबर