काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीमाथि कांग्रेस सांसद धनराज गुरुङ आक्रामक रूपमा प्रस्तुत भएका छन् । बिहीबार साँझ ६ बजे बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि एमाले र कांग्रेस सांसदबिच धकेलाधेकल भएको थियो ।
सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उठेर वेल घेराउ गर्न पुगेका थिए। उनीहरूले ‘सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर, सहकारी ठगलाई कारबाही गर’ जस्ता नारा लगाएका थिए।
सभामुख घिमिरे कांग्रेसको नाराबाजीबीच कार्यसूचीमा प्रवेश गर्दै राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए। त्यसपछि राप्रपा, लोसपालगायत दलका सांसद पनि बसेको ठाउँबाट उठेर विरोध गरेका थिए। कांग्रेसको विरोधबीच सभामुखले सदनलाई अघि बढाएपछि प्रतिपक्षी अन्य दलले पनि विरोध गरेका थिए।
कांग्रेसले नाराबाजी गरिरहेका बेला केहीबेर रोकिएका सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त अर्को पत्र पनि पढेर सुनाएका थिए। लगत्तै उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न समय माग गरेकोले समय दिएको जानकारी गराए। यसपछि रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बसेको ठाउँबाट उठेका थिए। उनी रोस्टमतर्फ अघि बढिसकेका थिएनन्।
सो क्रममा सत्तारूढ दलका सांसदहरू उठे। एमाले अध्यक्ष केपी शर्मा ओली पनि उठेका थिए। नाराबाजी गरिरहेका कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरूङ र ओली आमनेसामने भए। उनीहरूबीच भनाभन भएजस्तो प्रतिनिधि सभा बैठकको लाइभ भिडिओमा देखिन्थ्यो।
यसबीच एमालेका सांसद ठाकुर गैरे, प्रमुख सचेतक महेश बस्तौला ओलीभन्दा अगाडि पुगेका थिए भने कांग्रेसका धनराजसँगै कांग्रेस सांसद देवप्रसाद तिमिल्सिना पुगेका थिए।
ओलीबीच के ‘भनाभन’ भएको हो ?
गुरूङले भनाभन नभएको प्रतिक्रिया दिए। ‘हामी वेल घेराउको क्रममा थियौं। सभामुखले जबरजस्ती कार्यसूचीमा प्रवेश गर्नुभयो। त्यसपछि हामीले जबरजस्ती गर्न पाइन्न भन्ने नारा लगाएका थियौं,’ गुरूङले भने, ‘मैले त्यही नारा लगाएको हुँ, जबरजस्ती गर्न पाइन्न भनेको हुँ। औंला उठाएर मैले तीन-चार पटक त्यही नारा लगाएको थिएँ।’ यसपछि सत्तारूढ एमाले अध्यक्ष ओली आफूनजिक आइपुगेको गुरूङ बताउँछन्।
‘जबरजस्ती गर्न पाइन्न भनेर मैले नारा लगाइरहेको थिएँ। त्यहीबेला सत्तारूढ एमाले अध्यक्ष ओलीजी उठ्नुभयो। तपाईं यहाँ आउन पाउनु हुन्न भनेर भन्नुभयो,’ गुरूङले भने, ‘योचाहिँ संसदीय मर्यादाभित्र पर्दैन, मैले जानेको यत्ति हो।’

















