काठमाडौं । आइसीसी टी–२० विश्वकप अघिका वार्म अप खेल आजदेखि शुरु हुँदैछन् । आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दैछ । अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९ः १५ बजेदेखि शुरु हुँदैछ ।
क्यानडासँग खेल्नुअघि नेपालले अमेरिकाको स्थानीय क्लब ह्युस्टन हरिकेन्ससँग दुई अभ्यास म्याच खेलेको थियो । उक्त दुवै अभ्यास खेलमा नेपाल विजयी भएको थियो । नेपाली टिम अब क्यानडाविरुद्ध पनि जित निकाल्दै अपराजित रहन चाहन्छ ।
नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी–२० अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपाल ८ विकेटले जितेको थियो । आइसीसीको टी–२० वरियतामा नेपाल १७ औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ ।
यो पनि : विश्वकपको वार्म-अप खेलमा आज नेपाल र क्यानडा खेल्दै, यस्तो छ सम्भावित प्लेइङ–११
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकपमा सहभागी सबै २० टोलीलाई अमेरिका र वेस्ट इन्डिजमा गरी २–२ अभ्यास खेलको व्यवस्था मिलाइदिएको छ, त्यसअनुरुप नेपालले सोमबार क्यानडा र तीन दिनपछि अमेरिकासँग खेल्ने छ । पहिलो दिनको अभ्यासमा ओमानले पपुवा न्युगिनी र नामिबियाले युगान्डासँग खेल्ने छ ।
मंगलबार श्रीलंका र नेदरल्यान्ड्स, बंगलादेश र अमेरिका, अस्ट्रेलिया र नामिबिया, बुधबार अफगानिस्तान र ओमान विश्वकपअघि अभ्यास खेल जुट्ने छन् । नेपालले दुवै खेल डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा खेल्ने छ । नेपालले यही मैदानमा जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेलेर ट्वान्टी–२० विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि अमेरिकाकै फ्लोरिडामा श्रीलंकासँग जुन ११ मा तथा वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्ने छ ।
दीपेन्द्रले खेल्ने सम्भावना कति ?
नेपाली टिमका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरीले क्यानडाविरुद्धको खेल खेल्ने सम्भावना न्यून रहेको छ । खुट्टाको एंकलको चोटका कारण उनले अहिले विश्राम गरिरहेका छन् । क्यानडाविरुद्धको वार्मअप खेल दीपेन्द्रले खेल्ने सम्भावनाबारे धेरै काम रहेको कप्तान रोहितकुमार पौडेलले बताए ।
उनले भने ‘पहिलो वार्मअप खेलमा दीपुदाई लाई सोचेका छैनौं । दोस्रो वार्मअप खेल अवस्था हेरेपछि थाहा हुन्छ । अहिले उहाँको अवस्ता हेर्दा सबै कुरा ठिक जस्तो लागेको छ तर पनि हामी धेरै जोखिम लिदैनौँ, किनभने हाम्रो मुख्य उद्देश्य वार्मअपभन्दा पनि विश्वकप हो । त्यसैअनुसार हामी तयारी गरिरहेका छौँ ।’ यस्तै दीपेन्द्रले ह्युस्टन हरिकेन्ससँगको दुई अभ्यास खेल पनि खेलेका थिएनन् ।














