साउदी सुपर कप : रोनाल्डो चम्कँदा अल नासर फाइनलमा

Image

काठमाडौं । पोर्चुगिज भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोले एक गोलसँगै असिस्ट प्रदान गरेपछि अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा अल तावोनलाई २–० गोलले हराउँदै अल नासर फाइनलमा पुगेको हो । १० खेलाडीमा समेटिएको अल नासरको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोसँगै एमन अहमेदले गोल गरे ।

प्रिन्स सुल्तान बिन अब्दुलअजिज स्पोर्ट्स सिटी स्टेडियम अभामा बिहीबार राति भएको खेलको सातौं मिनेटमा एमन अहमेदले गोल गर्दै अल नासरलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले रोनाल्डोको पासलाई सदुपयोग गरे ।

पहिलो गोलका लागि सहायता प्रदान गरेका रोनाल्डोले ५७औं मिनेटमा गोल गर्दै अल नासरको अग्रता दोब्बर पारे । रोनाल्डोले सुल्तान अल घनामको पासमा गोल गर्न सफल भएका थिए ।

खेलको अन्त्यतिर अल नासर १० खेलाडीमा समेटिन पुग्यो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा क्रोएसियन मिडफिल्डर मार्सेलो ब्रोजोभिच सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । तर, त्यसको असर अल नासरलाई यस खेलमा परेन।

अब अल नासरले उपाधिका लागि अल हिलालसँग प्रतिस्पर्धा गर्नेछ । गत सिजनको प्रो लिग, किङ्स कप र सुपर कप विजेता अल हिलालले अल एहेलीलाई टाइब्रेकरमा ४–१ ले पराजत गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ ।