भुटानको रोमाञ्चक जितसँगै सेमिफाइनलमा, भारतले अन्तिम खेलको नतिजा कुर्ने

Image

काठमाडौं । १० खेलाडीमा समेटिएको भुटानले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपमा बुधबार माल्दिभ्सविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भुटानलाई जित दिलाउन जितसुन दोर्जी र नोवाङ छोपेलले गोल गरे । माल्दिभ्सका लागि फिरकले गोल फर्काए । जितसँगै भुटानले दुई खेलमा तीन अंक जोडेको छ । पहिलो खेलमा भुटान भारतसँग १ ० ले पराजित भएको थियो ।

यता माल्दिभ्सले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । खेलको २२औं मिनेटमा दोर्जीको गोलमार्फत भुटानले अग्रता लिएको थियो । जिग्नम दोर्जीको क्रसलाई माल्दिभ्सका गोलकिपर मोहम्मद यमिनले नियन्त्रणमा लिन नसक्दा दोर्जीले सहजै गोल गरे । भुटान ५१औं मिनेटमा १० खेलाडीमा सिमिति भयो ।

गोलकपिर सोनम तेन्जिङले पेनाल्टी बक्स बाहिर आएर ह्यान्ड गरेपछि रातो कार्डको समाना गरेका थिए । उक्त अवसरमा प्राप्त फिकिकलाई फिराकले सिधै गोलमा परिणत गर्दै ५३औं मिनेटमा माल्दिभ्सलाई खेलमा फर्काएका थिए । अन्तिम समयमा छोपेलले गोल गर्दै भुटानलाई जित दिलाए । उनले जितसुनले उपलब्ध गराएको बललाई पोस्टको दिशा दिए ।

योसँगै समूह ‘बी’को पहिलो खेलमा भुटानलाई १–० ले पराजित गर्दै ३ अंक जोडेको भारतको भने माल्दिभ्ससँगको नतिजा कुर्नुपर्ने भएको छ। यो समूहमा भुटान र भारतको समान ३ अंक रहेको छ। माल्दिभ्स भने अंकविहीन रहेको छ। भारतलाई सेमिफाइनल पुग्न बराबरीको नतिजा नै पर्याप्त हुनेछ। यही खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ।