हेटौंडा । हेटौंडामा चाडपर्व लक्षित बजार अनुगमन सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालय, घरेलु उद्योग वाणिज्य कार्यालय र उपभोक्ता हितसंरक्षण मञ्चको संयुक्त बजार अनुगमन सुरु भएको हो ।
यसअघि विभिन्न निकायसँग समन्वय गरेर बजार अनुगमन नाम मात्रैको अनुगमन हुने गरेको पाइएको उपभोक्ताहरुले गुनासो गर्ने गरेका थिए । अनुगमनका क्रममा व्यापारी तथा व्यवसायीलाई दिएको निर्देशन कार्यान्वयन नभएपछि नाम मात्रैको बजार अनुगमनमा सीमित हुने गरेको उपभोक्ताहरुको भनाई रहेको थियो तर यसपालीदेखि बजार अनुगमनलाई विगतमा भन्दा प्रभावकारी बनाइएको छ । सरोकारवाला निकायले बजार अनुगमनलाई ‘आक्रामक’ बनाउँदै कमजोरी देखिए ठाउँकोठाउँ कारबाही गरेर जरिवाना तिराइने भएको छ ।
बिहीबारदेखि सुरु गरिएको अनुगमनले कमजोरी देखिए ठाउँकोठाउँ कारबाही गर्दै जरिवाना तिराउदै आएको हो । हेटौंडामा वर्षौदेखि सञ्चालनमा आएको हेटौंडा–४, पारिजातपथमा रहेको दाजुभाइ फाष्टफुडलाई संयुक्त बजार अनुगमनको क्रममा उपमहानगरपालिकाले २५ हजार जरिवाना गराएको छ भने चितवनको शाखाको रुपमा रहेको पारिजातपथकै वैष्णव होटललाई पनि २५ हजार जरिवाना गराइएको छ ।
के कारणले परे कारबाहीमा दुइटै होटल ?
दाजुभाइ फाष्टफुडमा भान्सा फोहोर भएको, मःम बनाउन ल्याइएको बन्दा कुहिएको अवस्थामा अव्यवस्थितसँग राखिएकोलगायतको कमजोरी फेला परेको थियो । दाजुभाइ फाष्टफुडका सञ्चालक राजकुमार गौतमलाई आज शुक्रबार कार्यालयमा अनिवार्य उपस्थित हुन अनुगमन समितिले निर्देशन दिएको हो त्यसैगरी दाजुभाइको खोपेगल्लीमा रहेको मिठाईको भान्सामा फोहोरको ढल निकास नगरी नजिकै मिठाई बनाइरहेको अनुगमन टोलीले फेला पारेकोथियो । भान्सा सुधार गर्न निर्देशन दिइएको उपमहानगरको उद्योग, पर्यटन, सहकारी शाखाप्रमुख हिमप्रसाद पौडेलले जानकारी दिएका छन्।
वैष्णव होटलले कालो ढुसी परेको पाउरोटी बिक्रीका लागि राखेको अनुगमन टोलीले फेला पारेको थियो । वैष्णवमा भान्सा सरसफाई नगरिएको, उद्योग वाणिज्य कार्यालयमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, बिक्रीका लागि राखिएका खाद्यवस्तुको लेबलिङ उपयुक्त तरिकाले नराखेको भेटिएको थियो । वैष्णव होटलले चितवनबाटै मःमलगायतका तयारी खाद्यवस्तु हेटौंडा ल्याएर बिक्री गरिरहेको खुलेको छ । पारिजातपथमै अनमोल होटलको भर्खरै सञ्चालनमा आएको भनिएको नयाँ होटललाई सचेत गराइएको छ ।
बजार अनुगमनको नेतृत्व उपमहानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको उद्योग, पर्यटन, सहकारी शाखा प्रमुख पौडेलले गरेका थिए । अनुगमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका दीपक पौडेल, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्यनिरीक्षक दीपक घिमिरे, घरेलु उद्योग वाणिज्य कार्यालयप्रमुख रामप्रसाद भुषाल, उद्योग वाणिज्य संघ, उपभोक्ता हितसंरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष बासु खतिवडा, मकवानपुर उद्योग वाणिज्य संघका पवन कार्की लगायतको उपस्थिति रहेको थियो ।
अब हामीले अनुगमनकै क्रममा जरिवाता तिराउँछौं । यसो हुँदा अनुगमनको पनि प्रभावकारिता हुन्छ । यसअघि धेरै पटक सचेत गराउँदा पनि होटल सञ्चालकहरु अटेरी बनिरहेका छन् । उपमहानगरपालिकाले कारबाहीलाई पनि झन बलियो बनाएर जान्छ,’ पौडेलले भने । उपभोक्तालाई ढुक्कसँग खाद्यवस्तु उपभोग गर्न सक्ने वातावरण निर्माणको लागि उपमहानगरपालिका लागिपरेको र बजार अनुगमनलाई तीव्रता दिइने पौडेलले बताएका छन्।















