‘म मेरो देशको लागि खेल्न सधैं मन पराउछु । म कृतज्ञ र गर्व गर्दछु’ – गुल्सन झा

Image

काठमाडौं । आईसीसी विश्वकप लिग-२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ। नेपालले दिएको दुई सय २१ रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो। नेपाल पराजित भएको खेलमा ओमानविरुद्ध आक्रामक ब्याटिङ र बलिङ गरेका गुल्सन झा प्लेयर अफ द म्याच बने।

गुल्सनले ब्याटिङतर्फ ३५ बलको सामना गर्दा ५ छक्का र तीन चौकाको मद्दतमा ५३ रन जोडे भने बलिङतर्फ ५ विकेट लिए। उनले १० ओभर बलिङ गर्दा दुई मेडनसहित ४७ रन दिएर ५ विकेट झारेका हुन्। बलिङ र ब्याटिङ दुवैतर्फ आक्रामक देखिएका गुल्सन पराजित खेलको म्यान अफ द म्याच बनेका हुन्।

खेलपछि उक्त अलराउन्डर प्रदर्शनमा टोलीले हारेको कारण आफू खुसी नभएको गुलशनले बताएका छन् । ‘म खुसी छैन । हामी जितको अवस्थामा हुन सक्थ्यौं र तर हार्न पुग्यौं । तर ठिकैछ’, गुलशनले भने । त्यसैमा थपे, ‘म मेरो देशको लागि खेल्न सधैं मन पराउछु । म कृतज्ञ र गर्व गर्दछु हो । मैले आफ्नो भूमिका बलिङमा रमाई रहेको छु । स्पिनरमाथि खेल्ने मेरो खुबी हो ।’

क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्डमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। ओमानले नेपालले दिएको २२१ रनको लक्ष्य ४९ दशमलव ५ ओभरमा नौ विकेटको क्षतिमा भेट्टाएको हो।

ओपनिङ कमजोर देखिएको नेपालको मध्यक्रम सम्हालिएर पूरै ५० ओभर खेल्दा सम्मानजनक योगफल खडा गरेको थियो। नेपालका लागि कप्तान रोहित पौडेल र गुल्सन झाले अर्धशतक बनाए। कप्तान पौडेलले ७२ बलको सामना गर्दै चार छक्का र दुई चौकाको मद्दतमा ६० रन बनाउँदा गुल्सनले ३५ बलको सामना गर्दा ५३ रन जोडेका थिए।

नेपालका लागि सम्हालिएर खेलेका आरिफ शेखले ८८ बलको सामना गर्दै ३५ रन बनाए। कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल बेन्चमा रहेको खेलमा अर्जुन साउद, आरिफ शेख र अनिल शाहले खेल्ने मौका पाएका थिए।

गुल्सनले पाँच विकेट लिएको खेलमा नेपालका लागि करण केसीले दुई विकेट लिए। सन्दीप लामिछाने र आरिफ शेखले समान एकएक विकेट हात पारे। क्यानडामा जारी सिरिजको यो शृङखलाको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो।