काठमाडौं । आगामी शनिबारदेखि सुरू हुन लागेको नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किङ्सबाट खेल्न न्युजिल्याण्डका चर्चित खेलाडी मार्टिन गप्टिल नेपाल आइपुगेका छन् ।
गप्टिल बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन् । पहिलोपटक नेपाल आएका गप्टिललाई स्वागत गर्न विराटनगरका टिम अफिसियलहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी हुन् । विराटनगरको मुख्य प्रशिक्षक आयरल्यान्डका पूर्व क्रिकेटर केभिन ओ’ब्रायन टोलीको सहायक प्रशिक्षकमा लाक्पा लामा र व्यवस्थापकमा विजय कुमार धिताल छन् । टोलीको निर्देशकमा दीपेन्द्र चौधरी रहेका छन् ।
३८ वर्षीय गप्टिलसँग अन्तर्राष्ट्रिय क्रिकेट र फ्रेन्चाइज क्रिकेट खेलेको धेरै अनुभव छ । उनी एनपीएलका लागि अनुबन्ध हुने अहिलेसम्मकै ठूलो नाम र स्टार खेलाडी हुन् ।
गप्टिलले किवी टोलीका लागि ४७ टेष्ट, १९८ ओडीआई र १२२ टी-२०आई खेल खेलेका छन् । उनले ३४७ टी-२० खेल खेलेका छन् । ओडीआईमा एकै खेलमा अविजित २३७ रन बनाएका गप्टिलले टी-२० आईमा २ शतक प्रहार गरेका छन् । टी-२० आईमा उनको उच्च स्कोर १०५ रन हो ।
उनले टेष्टमा २ हजार ५८६ रन बनाएका छन् भने ओडीआईमा ७ हजार ३४६ रन बनाएका छन् । यस्तै टी-२० आईमा ३ हजार ५३१ रन बनाएका छन् । विश्वभर सबैखाले टी-२० खेलमा गरेर गप्टिलले ९ हजार भन्दा बढी रन बनाएका छन् ।
उनले मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाब किंग्सबाट इन्डियन प्रिमियर लिग आईपीएल खेलिसकेका छन् । यस्तै बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगायत अन्य फ्रेन्चाइज लिगसमेत खेलिसकेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । विराटनगरले उद्घाटनकै दिन जनकपुर बोल्ट्ससँग पहिलो खेल खेल्नेछ ।
विराटनगर किङ्स टोली : सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम
एनपिएलमा विराटनगरको खेल तालिका
मंसिर १५ गते जनकपुर बोल्ट्सविरुद्ध मध्यान्ह १२ः१५ बजे
मंसिर १८ गते सुदूरपश्चिम रोयल्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर १९ गते लुम्बिनी लायन्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २२ गते कर्णाली याक्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २७ गते पोखरा एभेन्जर्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २८ गते चितवन राइनोजविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर ३० गते काठमाडौं गोर्खाजविरुद्ध बिहान ९ः१५ बजे















