काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवन राइनोज अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। यो हारसँगै जनकपुर बोल्ट्सको प्लेअफ पुग्ने सम्भावना सदाका लागि समाप्त भएको छ भने जनकपुरसँगै कर्णाली याक्सको पनि प्लेअफ यात्रामा पूर्णविराम लागेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुर बोल्ट्सले चितवनको कसिलो बलिङ आक्रमणसामु टिक्न नसक्दा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८८ रनको सामान्य योगफल तयार पार्यो। जनकपुरका लागि कप्तान हरमीत सिंहले सर्वाधिक २५ रन बनाए भने विशाल सुसलिङले १५ तथा सन्तोष कार्कीले १० रन जोडे। जनकपुरका अन्य ब्याटरहरूले दोहोरो अंकसमेत छुन सकेनन्।
चितवनका बलर रणजित कुमारले घातक बलिङ गर्दै ३ ओभरमा मात्र २ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। त्यसैगरी, कप्तान सिकन्दर राजा, कमल सिंह ऐरी र कामिल मिसाराले २-२ विकेट हात पारे भने रिजन ढकालले १ विकेट लिए।
जवाफमा ८९ रनको सामान्य लक्ष्य पछ्याएको चितवन राइनोजले १७ दशमलव २ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। चितवनका लागि डेविड मलानले अविजित रहँदै सर्वाधिक ३५ रनको इनिङ खेले। यस्तै, कुशल मल्लले १५ र रवि बोपाराले १३ रन बनाए। जनकपुरका राहुल यादवले ३ विकेट लिए पनि टोलीलाई हारबाट बचाउन सकेनन्।
यो महत्वपूर्ण जितसँगै ६ खेलबाट ७ अंक जोडेको चितवन राइनोज अंक तालिकाको चौथो स्थानमा उक्लिँदै प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाएको छ। यता, लिग चरणका सबै ७ खेल खेल्दा ४ अंक मात्र जोडेको जनकपुर बोल्ट्स प्रतियोगिताबाट बाहिरिएको छ।
जनकपुरको हार र चितवनको जितसँगै ६ खेलबाट ४ अंक मात्र रहेको कर्णाली याक्सको पनि गणितीय रूपमा प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ। यसअघि नै पोखरा एभेन्जर्स प्लेअफ समीकरणबाट बाहिरिसकेको छ।















