सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई दियो सामान्य लक्ष्य

Image

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को २४औँ खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई जितका लागि १२६ रनको सामान्य लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनायो।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रनको अर्धशतकीय इनिङ्स खेले। ५५ बलको सामना गरेका उनले ५ चौका र २ छक्का प्रहार गरे। यस्तै, थरिन्दु रतनायकेले २३ बलमा ३ चौकासहित २६ रन तथा आरिफ शेखले २५ बलमा १६ रनको योगदान दिए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ काठमाडौँ गोर्खाजका जहानदाद खानले कसिलो बलिङ गर्दै ४ ओभरमा १ मेडनसहित २२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। सन्तोष यादवले ३ ओभरमा १६ रन दिएर २ विकेट हात पारे।