काठमान्डु गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपिएलको प्लेअफमा

Image

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन गर्दै प्लेअफमा आफ्नो स्थान पक्का गरेको छ। शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई ७ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिँदै प्लेअफ यात्रा तय गरेको हो।

लिग चरणको आफ्नो अन्तिम खेलमा यो जितसँगै सुदूरपश्चिमले ७ खेलबाट १० अङ्क जोडेको छ। यता, पराजित काठमान्डु गोर्खाज भने ६ खेलबाट ८ अङ्कमा सीमित रहेको छ र उसको लिग चरणको अन्तिम खेल पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ।

कप्तान दीपेन्द्रसिंह ऐरीको सम्हालिएको अर्धशतक
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ६ विकेट गुमाएर १२५ रनको मध्यम योगफल तयार पारेको थियो।

इनिङ्सको सुरुवातमा सुदूरपश्चिमले निकै दबाबको सामना गरेको थियो। सुरुवाती ३ ओभरभित्रै टोलीले महत्त्वपूर्ण ४ विकेट गुमाइसकेको अवस्थामा कप्तान दीपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेले। ‘प्लेयर अफ द म्याच’ घोषित दीपेन्द्रले ५५ बलमा ५ चौका र २ छक्कासहित ६० रनको शानदार अर्धशतकीय इनिङ्स खेले।

त्यस्तै, तल्लो क्रममा थारिन्दु रत्नायकेले २३ बलमा ३ चौकासहित अविजित २६ रन र आरिफ शेखले १६ रन बनाएर टोलीको स्कोर उकासेका थिए। काठमान्डुका लागि जहाँदाद खानले घातक बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए भने सन्तोष यादवले २ विकेट हात पारे।

१२६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो।

काठमान्डुका लागि रासिद खानले ३१ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३५ रन बनाए। त्यस्तै, दुशान हेमन्तले २१, साम हेजलेटले ११ र सन्तोष यादवले १० रन जोडे पनि अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन्।

बायाँ हाते स्पिनर अनिल खरेलले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र १८ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए। त्यस्तै, स्कट कुगेलेइन, हेमन्त धामी र फाबियान एलेनले समान १–१ विकेट हात पारे।