हेटौंडा/ “रक्तदान जीवनदान हो” भन्ने मूल नारासहित हेटौंडा–५ स्थित रिलायन्स इन्लिस बोर्डिङ स्कूलमा एक दिवसीय रक्तदाता उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न विद्यालयका ६३ जना छात्र–छात्राहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको सभाध्यक्ष कपिला जोशीले आसन ग्रहण गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा संस्थापक प्राचार्य केशवलाल श्रेष्ठ, विशिष्ट अतिथि सिद्धार्थ सिसुसदन मा.वि.का प्रबन्ध निर्देशक भरत दुलाल तथा अतिथि दिनेश कुमार सुवेदी (प्रिन्सिपल), हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुसिल घिमिरे उपस्थित रहेका थिए। स्वागत मन्तव्य कपिला श्रेष्ठले राखेकी थिइन् भने उद्घाटन मन्तव्य प्रमुख अतिथि श्रेष्ठले दिएका थिए। शुभकामना मन्तव्य दिनेश सुवेदीले प्रस्तुत गरेका थिए।
कार्यक्रमको प्रमुख आकर्षणको रूपमा रक्तदानसम्बन्धी प्रशिक्षण सत्र रहेको थियो जसलाई ब्लड डोनर एशोसिएशन नेपालका सचिव सुधीर थापाले सञ्चालन गरेका थिए। प्रशिक्षणमा रक्तदानको महत्व, आवश्यकतासहित सामाजिक र धार्मिक भ्रान्तिहरूको खण्डन, नियमित रक्तदाता निर्माण, युवा सहभागिता लगायतका विषयमा जानकारी दिइएको थियो। सहभागी विद्यार्थीहरूसँग अन्तरक्रियात्मक सत्र पनि सञ्चालन गरिएको थियो।
उक्त कार्यक्रम बिहान ११:३० बजे शुरू भई दिउँसो २:३० बजे समापन भएको हो। आयोजकले रक्तदानप्रति सकारात्मक दृष्टिकोण विकास गर्नुका साथै स्वतःस्फूर्त रूपमा रक्तदान गर्न उत्प्रेरित गर्ने लक्ष्य राखेको बताएका छन्।
कार्यक्रम अन्तर्गत अन्य विद्यालयहरूमा पनि यही महिनाभर विभिन्न मितिमा यस्तै कार्यक्रम सञ्चालन गरिनेछ। सेमिनारी एकेडेमिक काउन्सिल, जेनिथ इन्टरनेशनल स्कुल, ज्ञानदीप, ज्ञानोदय, लक्ष्मी आधारभूत विद्यालय लगायतका विद्यालयहरूमा रक्तदाता उत्प्रेरणा कार्यक्रम सञ्चालनको तयारी रहेको थापाले जनाएका छन्।
















