काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
लागूऔषध खैरो हिरोइनको कारोबारको सम्बन्धमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ साल जेठ २० गते फैसला सुनाउँदै लामाले लागूऔषधको कारोबार गरेको ठहर गर्दै उनलाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
तर उनले कैद भुक्तान गरेका थिएनन् । अहिले प्रहरीले उनलाई पक्राउ गरेर अदालतमा पेस गरेको जनाएको छ ।
अदालतबाट दोषी हुँदा सर्वोच्च नगएका उनी एन्फामा प्रवेश गर्दै उपाध्यक्ष पदसम्म पुगेका थिए। उनी अदालतबाट दोषी ठहर भएको कुरा १५ वर्षपछि गत पुस पहिलो साता सार्वजनिक भएको थियो।
डेढ वर्षअघि भएको एन्फा केन्द्रीय कार्यसमिति निर्वाचनको बेलामा पनि लामाको विषयमा निर्वाचन समितिमा उजुरी परेको थियो। त्यतिबेला लामाले आफूले जेल बसिसकेको भन्दै कुरा मोडेका थिए।
निर्वाचन समितिले पनि गम्भीर रूपमा छानबिन गरेको थिएन। तर एन्फा कार्यसमिति पक्ष-विपक्षमा केन्द्रित हुन थालेपछि लामाको विषय सतहमा आएको थियो। लगत्तै विभिन्न सञ्चार माध्यममा समाचार आएपछि लामा सम्पर्कविहीन बनेका थिए।
गत सातदेखि भने उनी सामाजिक सञ्जालमा सक्रिय देखिएका थिए। एन्फा विधानको धारा २४ मा लागुऔषध बिक्री वितरणको मुद्दामा एक वर्ष वा सोभन्दा बढी कैद सजाय पाइ त्यस्तो फैसला अन्तिम भएको व्यक्ति एन्फामा निर्वाचित हुन नसक्ने उल्लेख छ। विधानअनुसार लामाको उपाध्यक्ष पद स्वत: खारेज हुन्छ।