यी चार नेपाली बलर, जो जिम्बाब्वेविरुद्ध सर्वाधिक विकेट लिन सक्छन्

Image

काठमाडौं ।

नेपालले आउँदो शनिबारदेखि जिम्बाब्वे ‘ए’ सँग तीन खेलको एकदिवसीय श्रृंखला खेल्दैछ । यो सिरिज नेपाली टिमका लागि अभ्यासको रूपमा हेरिएको छ । लिस्ट ‘ए’ मान्यता नपाएकाले सिरिजमा बनेका रेकर्ड खेलाडीको नाममा जोडिने छैनन् ।

जुनमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजअघि नेपालले जिम्बाब्वेसँग तीन–तीन खेलको वानडे र टी–२० सिरिज खेल्न लागेको हो । यो सिरिजमा गरेको प्रदर्शनको आधारमा विश्वकप लिग–२ को सिरिजका लागि कमब्याक गरेका र नयाँ खेलाडीले निरन्तरता पाउने–नपाउने टुंगो पनि लाग्नेछ ।

नेपालले पछिल्लोपटक मार्चमा पपुवा न्यूगिनीविरुद्ध एकदिवसीय सिरिज खेलेको थियो । जहाँ नेपालले सो श्रृंखला २–० ले गुमायो । पिएनजीविरुद्ध लगातार हारेको नेपाललाई त्रिवि मैदानमा जिम्बाब्वे ‘ए’ विरुद्ध भने बदला लिने मौका छ । यदि जिम्बाब्वेलाई हराउने हो भने नेपालले सबै पक्षमा सुधार गर्नुपर्नेछ ।

घरेलु मैदानमा खेलिरहेकाले यसपालि नेपाली बलरलाई जिम्बाब्वेसँगको सिरिजमा सर्वाधिक विकेट लिने मौका पनि छ । यसैबीच, आज जिम्बाब्वेविरुद्धको एकदिवसीय सिरिजमा सर्वाधिक विकेट लिनसक्ने चार नेपाली बलरको चर्चा गर्दैछौं :

१. सन्दीप लामिछाने : यो सूचीको शीर्ष स्थानमा कप्तान तथा स्पिनर सन्दीप लामिछानेको नाम आउँछ । उनले टी–२० का साथै एकदिवसीयमा पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । सन्दीपले हालसम्म यो प्रारूपमा २२ खेलमा ३.९० को इकोनमीमा ५० विकेट लिएका छन् । उनी नेपालका लागि वानडेमा सर्वाधिक विकेट लिने बलर हुन् ।

त्रिवि मैदानको पिचसँग राम्रै परिचित सन्दीप जिम्बाब्वेसँगको सिरिजमा सर्वाधिक विकेट लिन सक्छन् । नेपालले जिम्बाब्वेलाई हराउने हो भने उनले उत्कृष्ट बलिङ गर्न आवश्यक छ ।

२. सोमपाल कामी : जिम्बाब्वे ‘ए’ सँगको सिरिजका लागि सोमपाल कामी पनि टोली छन् । बीचमा चोटका कारण केही समय लय गुमाएका उनले पछिल्लो समय भने फेरि राम्रो प्रदर्शन गरिरहेका छन् ।

सोमपालले मार्चमा पिएनजीविरुद्धको सिरिजमा सर्वाधिक विकेट लिएका थिए । उनले उक्त श्रृंखलामा २ खेलमा ६.६१ को इकोनमीमा ५ विकेट हात पारे । हालसम्म सोमपालले एकदिवसीयमा १८ खेलमा ५.०५ को इकोनमीमा ३१ विकेट लिएका छन् । उनी यो प्रारूपमा सर्वाधिक विकेट लिने दोस्रो नेपाली बलर हुन् ।

३. करण केसी : नेपालको जितमा करणले बलिङ–ब्याटिङबाट नै योगदान दिइरहेका छन् । पछिल्लो समय उनी झन् लयमा देखिएका छन् । अघिल्लो महिना पिएनजीविरुद्ध ह्याट्रिकसहित ५ विकेट लिएपछि करणले उत्कृष्ट बलिङको नमूना प्रस्तुत गरे ।

नेपालसहित पिएनजी र मलेसियाबीचको सो त्रिकोणात्मक टी–२० सिरिजमा करणले ५ खेलमा सर्वाधिक १३ विकेट लिएका थिए । सोही लय जिम्बाब्वेसँगको खेलमा पनि कायमै राख्न सके उनी यसपालि पनि सिरिजमा सर्वाधिक विकेटकर्ता बन्न सक्छन् ।

हालसम्म करणले १८ एकदिवसीय अन्तर्राष्ट्रियमा ५.०५ को इकोनमीमा २७ विकेट लिएका छन् । उनी यो प्रारूपमा सर्वाधिक विकेट लिने तेस्रो बलर हुन् ।

४. दीपेन्द्रसिंह ऐरी : यो सूचीमा दीपेन्द्रसिंह ऐरीको नाम सुन्दा केही समर्थकलाई अचम्म पनि लाग्न सक्छ । लाग्नु स्वभाविक पनि हो । किनकी दीपेन्द्र बलिङभन्दा बढी ब्याटिङबाट परिचित छन् । तर, पछिल्लो समय भने उनी बलिङबाट पनि आफ्नो पहिचान बनाइरहेका छन् ।

दीपेन्द्रले ओमानमा विश्वकप ग्लाबेल छनोट खेल्नुअघि टेष्ट टोली आयरल्याण्डविरुद्ध पनि प्रमाणित गरे । सो खेलमा उनले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिएका थिए । साथै, दीपेन्द्रले हालै त्रिवि मैदानमा सम्पन्न त्रिकोणात्मक सिरिजमा पनि उत्कृष्ट बलिङ गरेका थिए । जहाँ उनले ५ खेलमा सात विकेट लिएका थिए ।

दीपेन्द्रले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा पनि ३.७६ को इकोनमीमा सात विकेट लिएका छन् । राम्रो लयमा रहेका र पूरा ओभर बलिङ गर्न पाइरहेका उनी जिम्बाब्वेविरुद्धको सिरिजमा सर्वाधिक विकेटकर्ता पनि बन्न सक्छन् ।