कैलाली । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षिराम आचार्यले कैलालीका अधिकांश स्थानीय तह माओवादीले जित्ने दाबी गरेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ को पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेता आचार्यले माओवादी केन्द्र जिल्लाका अघिकांश पालिकामा जित्ने स्थितिमा रहेको दाबी गरेका हुन् ।
पछिल्लो समय जिल्लामा माओवादी केन्द्रप्रति जनताको लहर उर्लेको भन्दै उनले जितका पर्याप्त आधारहरू तयार भइसकेको पनि बताए । आचार्यले वैशाख ८ गते पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गौरिगंगा नगरपालिकमा सम्बोधन गर्ने कार्यक्रम रहेको भन्दै त्यसको वृहत तयारीका लागी कार्यकर्तालाई निर्देशनसमेत दिए ।
पछिल्लो केही दिनयता गौरीगंगा नगरपालिकामा मात्रै विभिन्न पार्टी परित्याग गरी ५ सयभन्दा बढी नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष खुसिराम चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य धनीराम आचार्य, सिद्धराज कडेल, उमेश कडेँल, नगर कमिटीका उपाध्यक्ष हर्क नेगी, सदस्य चन्द्र कडेँललगायतको सहभागिता रहको थियो ।











