कैलाली । तीन वर्ष नपुग्दै बुबालाई गुमाएका देवीदत्त कँडेलको संघर्ष धर्तीमा टेकेदेखि नै सुरु भयो । उनले जन्मदिने बुबाको मुहारसम्म पनि सम्झने गरी देख्न पाएनन् । उनलाई गरिबीले च्याप्नु च्याप्यो । अभावले थिच्यो । गरिबी र अभावकै बीच जेनतेन उनको दैनिकी चलिरहेको थियो । बुबा गुमाउनुको पीडा बिर्सन नपाउँदै कँडेललाई अर्को बज्रपात आइलाग्यो ।
कुरो २०३९ सालतिरको हो । ७ कक्षामा अध्ययनरत रहँदै गर्दा उनी धेरै पढ्ने र देशमै केही गर्ने सपनाहरू सजाउँदै थिए । तर, दैवको लीला १४ वर्षको कलिलो उमेरमै उनले आफ्नो बायाँ हात गुमाउनुपर्यो ।
रुखबाट लडेर हात भाँचिएपछि उपचारका लागि उनले धेरै सास्ती खेपे । यातायात र आवश्यक खर्चको जोहो समयमै नहुँदा कँडेलको उपचारमा विलम्ब हुन पुग्यो । फलतः उनले आफ्नो हात सदाका लागी गुमाउनुपर्यो ।
बुबा गुमाएर बैसाखी गुमाएको जस्तै भएको उनको परिवार थप समस्यामा पर्यो । उनका कलिला सपनाहरू निमोठिए । उनीसँगै उनका परिवारको आशामा तुवाँलो लाग्यो । आर्थिक अवस्था झनझन नाजुक हुँदै गयो ।
पढ्ने लेख्ने सपना नै रोकिन थालेपछि २०५१ सालमा उनले बासुलिङ सुगर मिलमा मजदुरीको काम थाले । गौरीगंगा नदीबाट सुगर मिलमा दिनभर गिट्टी र बालुवा अनलोड गरेरै उनको दैनिकी बित्थ्यो । केही समय बालुवामा नङ्ग्रा खियाएर ६० हजार रुपैयाँ जति बचत गरेको उनलाई सम्झना छ । त्यो जीवनकै पहिलो कमाइ थियो । जे होस् सानो पुँजी संकलन भयो । उनले सानैबाट लगानी सुरु गरे ।
कँडेलले पसिना बेचेर कमाएको रकमले राजीपुरमा धान गहुँ खरिद गर्ने र बिक्री गर्ने गल्लाको काम सुरु गरे । पानीको थोपा जस्तै गरी बचत संकलन हुँदै गयो । धेरै वर्षदेखिका अभाव र निराशाहरू आशामा परिणत हुन थाले । कामप्रतिको लगाव र धैर्यताका कारण उनको व्यापार फस्टाउँदै गयो । वचनमा इमानदारिता भएकै कारण उनले धेरैको विश्वास जिते ।
विस्तारै दुःखका दिन फेरिँदै गए । संघर्षबाटै हुर्केका उनी समस्यासँग कहिल्यै भागेनन् । बरु जुधे । समाजलाई उनले विश्वास दिए, समाजले उनलाई माया दियो । फलतः कँडेललाई झण्डै डेढ दशक गौरीगंगामा रहेको कालीका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गर्ने मौका मिल्यो ।
उनै कँडेलले लामो समय बिताएको विद्यालय आज जिल्लाकै उत्कृष्ट र प्रतिष्ठित सरकारी विद्यालयको रुपमा धेरैले चिन्छन् । कालीकाका धेरै उत्पादन देशका विभिन्न क्षेत्रमा उच्च स्तरसम्मै पुगेकोमा उनी गर्व गर्छन ।
शिक्षा विभागबाट सम्मानित
डोटीको बडिकेदार गाउँपालिकामा जन्मिएका कँडेल कुशल व्यवस्थापकको रूपमा शिक्षा विभागबाट सम्मानित भइसकेका छन् । कालिका माध्यमिक विद्यालयको अध्यक्ष हुँदा सुदूरपश्चिममै उत्कृष्ट विद्यालय व्यवस्थापन गरको भन्दै उनी विभागबाट सम्मानित भएका हुन् । जिल्ला शिक्षा समिति र सामुदायिक वन तथा अन्य सामाजिक संस्थाहरूमा उनको लामो अनुभव र ठूलो योगदान छ ।
बाँकी जीवन नगरको विकासमा समर्पित गर्ने वाचा
२०५४ सालताका नै राजनीतिक रूपमा संलग्न रहेका कँडेल ०६४ देखि सक्रिय राजनीतिमा छन् । लामो समयदेखि नेकपा माओवादी केन्द्रको विभिन्न तहमा बसेर उनले कुशल नेतृत्व प्रदान गरेकै कारण पार्टीभित्र र बाहिर उनको लोकप्रियता बढ्दो छ । गत निर्वाचनमा झिनो मतान्तरले पराजित भएका कँडेलले अहिले गठबन्धन (कांग्रेस, माओवादी र समाजवादी) को तर्फबाट गौरीगंगा नगरपालिकाको मेयरको टिकट पाएका छन् । गठबन्धनको तर्फबाट भोजबहादुर बम उपमेयरमा साझा उम्मेदवार छन् ।
समाजमा स्वस्थ छवि र सुसंस्कृत राजनीतिलाई अँगालेका कारण सजिलै चुनाव जित्ने र नगरलाई नमुना बनाउने उनको योजना छ । ‘निष्ठा र इमान्दारीता मेरो कर्म र धर्म हो,’ कँडेलले भने ‘जीवनमा सिकेका सीप अनुभव र सङ्घर्षबाट आर्जेका सबै उपलब्धि र ज्ञान नगरको विकासमा समर्पित गर्ने छु ।’ उनले थपे, ‘सबैले गर्व गर्नलायक नगर बनाउने मेरो ठूलो सपना छ ।’