Khabar Board

रवि पक्राउविरुद्ध रास्वपाले विरोधका कार्यक्रम गर्ने

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरुद्धमा राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकीले विरोध गर्ने भएको छ। सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अनाधिकृत रुपमा गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा लामिछाने शुक्रबार काठमाडौँबाट पक्राउ परेका हुन्।

दुई तिहाईको सरकारले दम्भ देखाउँदै पक्राउ गरेकाले विरोधका कार्यक्रम गर्ने रास्वपा गण्डकीका सभापति राजन गौतमले बताए। उनले शनिबारदेखि नै निरन्तर विरोध गर्ने बताए। ‘जहाजमा ल्याए आजै विमानस्थलमा विरोध गर्छौं। गाडीमा ल्याइयो भने भोलिबाट विरोधको कार्यक्रम हुन्छ’, उनले भने।

यसअघि असोज ६ गते गोरखा मिडिया नेटवर्कमा रविका व्यावसायिक साझेदार पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेपछि भोलिपल्ट पोखरामा रास्वपाका कार्यकर्ता र सहकारीका पीडित बचतकर्ता आमनेसामने भएका थिए।

त्यतिबेला नै रविलाई पक्राउ गर्न अदालतले पूर्जी जारी गरेको चर्चा थियो। तर, प्रहरी पछि हट्यो। शुक्रबार जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको एकल इजालसले पूर्वगृहमन्त्री लामिछानेसहित १४ जनालाई पक्राउ गर्न पूर्जी जारी गरेको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.