मकवानपुर । विश्वभरका क्रिश्चियन समुदायले इशाईहरुको दोस्रो महान चाड ईस्टर सन्डे मनाएका छन् । येशू ख्रीष्ट बौरी उठ्नुभएको अर्थात पुनरुत्थानको दिनको सम्झनामा इशाईहरूले ईस्टर सन्डे मनाउने गर्दछन्।
येशू ख्रीष्ट संसारका सबै मानव जातिहरूको पाप क्षमा गर्न आउनुभएको विश्वास गरिन्छ । इशाईहरूको विश्वास अनुसार येशू ख्रीष्टलाई २ हजार २४ वर्ष अघि शुक्रबारको दिन क्रुसमा टाँगिएर मारिएको थियो र तेस्रो दिन आइतबारको दिन मृत्युलाई जितेर पुनरुत्थान हुनुभएको मानिन्छ । ईस्टर उत्सवमा इशाईहरूले येशू ख्रीष्ट जीवित हुनुभएको खुशीयालीमा शुभकामना आदान—प्रदान गर्ने, र्याली निकाल्ने, आफन्तहरू भेला भई भोजन खाने खुवाउने प्रचलन रहेको छ।
आज मकवानपुर संयुक्त इसाई समुदायले ईस्टर सन्डे हर्षोल्लासका साथ मनाएको छ । बिहानैदेखि हेटौँडा फरेस्ट्री क्याम्पसबाट बृहत र्याली शुरु भएको थियो। र्यालीले बाईपास रोड, मेनरोड, सिमाचोक हुँदै बुद्धचोकमा पुगेर प्रार्थना र भजन गाएको थियो। र्यालीमा सहभागीहरूले येशूको चोटबाट हामी निको भएका छौंू, हेर युगको अन्तिमसम्म म तिमीहरूको साथमा छुू, हाम्रो प्रभु येशू ख्रीष्ट बौरी उठ्नुभएको छू, धार्मिकताले देशलाई उचाल्छू लगायतका नाराहरू लेखिएका प्लेकार्डहरू बोकेका थिए। मकवानपुर पास्टर एसोसिएसनका सचिव पास्टर विजय बजगाईंको अगुवाईमा भएको र्यालीमा करिब २ हजार भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो।
ईस्टर सन्डेमा येशू ख्रीष्टको मृत्युबाट पुनरुत्थानको सम्झना गर्दै एन.सि.एफ. नेपाल जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष पास्टर सुर्य बहादुर पाख्रिनले येशू ख्रीष्टको मृत्युबाट विजयको दिन अर्थात पुनरुत्थान भएको दिनलाई भव्य रूपमा मनाउनु पर्ने र यसले सबैलाई एक हुन प्रेरित गर्ने बताउनुभयो।
त्यसैगरी, इसाईहरूका अभिभावक क्रषिराम आचार्यले इसाई धर्मगुरु येशूलाई क्रुसमा चढाइएको ३ दिनपछि उहाँको पुनरुत्थान भएको विश्वासका साथ ईस्टर सन्डे मनाउने गरिएको बताउनुभयो। उहाँले येशू ख्रीष्टको मृत्युभन्दा पनि पुनरुत्थानले आफूहरूलाई विश्वासमा बलियो र उत्साहित बनाउने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, ूविश्वभरि नै हामी पुनरुत्थानको दिनको रूपमा मनाउँछौं। उहाँ जन्मनुभयो, मर्नुभयो र तेस्रो दिनमा फेरि बौरी उठ्नुभयो, त्यसैले यो दिन हामी ख्रिस्टियनहरूका लागि महत्त्वपूर्ण छ। यहाँ मृत्युमाथि विजय भएको कुरा नै हाम्रो लागि ठूलो कुरा हो।’
त्यसैगरी, मकवानपुर आमा दिदीबहिनी संगठन अध्यक्ष कुमारी स्याङतानले येशूलाई पाएकोकारण नै आज सबै एकभएर भेला हुने अवसर पाइएको भन्दै सबैले येशूको सन्देशलाई अध्ययन गरी विश्वास गर्नुपर्ने उल्लेख गर्नुभयो।
नगर पास्टर एसोसिएसनका अध्यक्ष अशोक अधिकारीले ‘प्रभु येशू ख्रीष्ट क्रुसमा टाँगिनुभयो। सारा पापलाई लिएर उहाँ मर्नुभयो तर उहाँ मरेको मरेइ हुनुभएन, तेस्रो दिनमा मृत्युबाट बौरी उठ्नुभयो। त्यसैको सम्झना गर्दै यस पर्व मनाउँदै आइरहेको छ,भन्नुभयो। उहाँले भव्यतापूर्वक मनाउन आग्रह गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नेसबैलाई धन्यवाद ज्ञापन पनि गर्नुभयो।
मकवानपुर संयुक्त इसाई समुदायका संयोजक पास्टर सुवास गोपालीले कार्यक्रमलाई समापन गर्दै भन्नुभयो,‘आज हाम्रो प्रभु येशू पुनर्जीवित भएको दिन हो। त्यसैको विजय उत्साव मनाउन आज हामी आएका छौं। विश्वभर यो कार्यक्रम भइरहेको छ। हाम्रो पापको लागि नै उहाँ आउनुभएको थियो। हाम्रो उद्धारको लागि उहाँ मर्नुभयो र तेस्रो दिनमा जीवित हुनुभयो।’
उहाँले पुनरुत्थान दिवसको अवसरमा मकवानपुरका सम्पूर्ण धर्मावलम्बीहरू एकै ठाउँमा भेला भएर खुशीयालीको खबर प्रचार गरेको बताउनुभयो। यसरी सबै एकैस्थानमा बसेर कार्यक्रम गर्दा एकताको सन्देश जाने हुँदा यसलाई निरन्तरता दिनुपर्ने उद्घोष पनि गर्नुभयो।
कार्यक्रममा मकवानपुर पास्टर एसोसिएसनका पूर्व अध्यक्ष रामचन्द्र प्याकुरेलद्वारा अन्तिम प्रार्थना गरी कार्यक्रमको समापन गरिएको थियो।
विश्वभरका क्रिश्चियनहरूले मनाउने सबैभन्दा ठूलो उत्सवको पर्व हो ईस्टर सन्डे विश्वभरका धेरै ईसाईहरूले विशेष चर्च सेवाहरू, संगीत, मैनबत्ती, फूलहरू र चर्चको घण्टी बजाएर ईस्टर मनाउँछन् । ईस्टर सन्डेलाई येशूको पुनरुत्थान भएको दिनको रूपमा पनि लिने गरिन्छ । यसरी ईस्टर सन्डेमा पुनरुत्थान भएका येशू थप ४० दिनसम्म बाँचेको र त्यस अवधिमा उहाँले आफ्ना अनुयायीहरूलाई शिक्षा दिनुभएको र त्यसपछि स्वर्गारोहण गरेको उल्लेख छ।