हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा उत्पादन थालिएको गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ । हेटौंडा–१२ घलेगाउँमा रहेको कञ्चनजंगा कृषि सहकारी सस्था लधु उद्यमी उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको हो ।
लधु उद्यमीहरुले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौंडामा रहेको खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञा पत्र दिएको उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । उपमहानगरले गरेको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्याममा लागेको गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता पाएको बताइएको छ ।
मान्यता पाए सँगै जिल्ला भित्र र बाहिरी शहरमा बिक्रीका लागि बाटो खुलेको छ । करिब चार महिना लामो परिक्षण साथै निगरानी पछि खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञा पत्र दिएको उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले बताएका छन्।
उपमहानगरपालिकाको १ लाख, सहकारीको ८० हजार रुपियाँबाट १५ कठ्ठा जमिन भाडामा लिएर अर्गानिक साग उत्पादन गरी बनाएको गुन्द्रुकले बजारीकरणका लागि स्विकृत पाउँदा खुशी भएको उद्यमी समुहका अध्यक्ष चिनीमाया गुरुङले बताइन् ।
उद्योग शाखाको तथ्याङक अनुसार उपमहानगरले ८०० भन्दा बढीलाई बिभिन्न प्रकारका तालिम दिएको र अहिले २६८ जना उद्यममा जोडिएको जनाएको छ ।
उपमहानगरपालिका आर्थिक बिकास समितिका संयोजक अनिल बाँनियाँको अध्यक्षतामा भएको कार्यक्रममा मेयर मिना लामा, उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी सहित बिभिन्न वडाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।