अष्ट्रेलियाले दियो पाकिस्तानलाई विशाल लक्ष्य, हेडले गरे चौकाको वर्षा

Image

काठमाडौं ।

एकदिवसीय सिरिजको पहिलो खेलमा पाहुना टोली अष्ट्रेलियाले पाकिस्तानलाई ३१४ रनको लक्ष्य दिएको छ । लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३१३ रन बनायो ।

उसका लागि ओपनर ट्रभिस हेडले शतकीय पारी खेले । उनले ७२ बलमा १२ चौका र तीन छक्कासहित १०१ रन बनाए । त्यस्तै, बेन म्याक्डरमोर्टले ५५, क्यामरोन ग्रीनले अविजित ४०, मार्कस स्टोइनिसले २६, मार्नस लाबुसेनले २५, कप्तान आरोन फिन्चले २३ र शन एबटले १४ रनको योगदान दिए ।

पाकिस्तानका हरिस रौफ, जाहिद महमूदले दुई/दुई, इफ्तिखार अहमद र खुशदिल साहले एक/एक विकेट लिए । अष्ट्रेलिया-पाकिस्तान तीन खेलको टेष्ट श्रृंखला खेलेर तीन म्याचकै वानडे सिरिज खेलिरहेका हुन् ।

नेपालविरुद्ध खेलिसकेका छन् हेडले

ट्रभिस हेड अष्ट्रेलिया टिमका महत्वपूर्ण सदस्यमध्ये एक हुन् । उनले अष्ट्रेलियाका लागि ४३ ओडीआई, २६ टेष्ट र १६ टी–२० खेलिसकेका छन् । आईपीएलमा पनि विभिन्न टिमबाट खेलिसकेका ट्रभिसले २०१२ को विश्वकपमा नेपालविरुद्ध पनि खेलेका थिए ।

सो खेलमा उनले १४ बलमा ९ रन मात्र बनाएका थिए । हेडलाई प्रदीप ऐरीले भुवन कार्कीको हातबाट क्याच आउट गराएका थिए । हेडले आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र दिल्ली डेयरडेभिल्सबाट पनि खेलिसकेका छन् ।

यो पनि पढौं : अनि कूल विनोद भण्डारी ‘आगो’ भए

यो पनि पढौं : आईसीसीको नयाँ वरियता सार्वजनिक, नेपालको स्थान कहाँ?