अनि कूल विनोद भण्डारी ‘आगो’ भए

Image

काठमाडौं ।

सामाजिक सञ्जालमा राम्रोभन्दा नराम्रो अर्थात् अतिरञ्जित कुरा भाइरल हुन्छ । यस्तै हुँदै नभएको कुरा केही दिनअघि सामाजिक सञ्जालतिर भाइरल भयो । र, त्यही भाइरल कुराको पछाडि केही ठूलो मिडिया पनि आँखा चिम्लेर लागे । अनि झन् सुरु भयो राष्ट्रिय क्रिकेट टिमका विकेटकीपर/ब्याट्सम्यान विनोद भण्डारीलाई दुत्कार्ने काम ।

विनोद सामान्य भिडियो क्लिप र समर्थकका स्टाटस नजरअन्दाज गरिरहेकै थिए । तर, एउटा चल्तीको अनलाइनले आफ्नो नाम ‘हुँदै नभएको कुरा’मा जोडेपछि भने उनको पारो तात्यो । र, ‘कूल’ रहने विनोद ‘आगो’ भए ।

उनको आगाले कसैलाई नजलाए पनि सामाजिक सञ्जाल थप तताउने काम भने अवश्य गर्यो । विनोद वर्षौंदेखि नेपालका लागि क्रिकेट खेल्दै आएका छन् । उनले कुनै बेला टिमका लागि राम्रो प्रदर्शन पनि गरे । तर, पछिल्लो समय भने उनको दिनहरू खराब चलिरहेका छन् अर्थात् उनको ब्याट शान्त छ ।

विनोद पनि शान्त ब्याटलाई आक्रामक बनाउन लागिरहेकै छन् । तर, दिनहरू नै आफ्नो पक्षमा नभएपछि जति कोसिस गर्दा पनि केही नलाग्ने रैछ । ब्याट शान्त रहे पनि विकटकीपिङ भने विनोदले ठिकै गरिरहेका छन् । नेपाली टिममा अझै स्तरीय विकेटकीपिर नआइसकेकाले उनले नै केही वर्ष यो भूमिका पाउने सम्भावना पक्का जस्तै छ ।

प्रदर्शन खस्किएपछि खेलाडीको कमजोरी निकाल्न तपाई/हामी ‘हात धोएरै’ लागिरहेका हुन्छौं । यही हचुवाको भरमा केही दिनअघि समर्थकले ‘हेर्नुस् विनोदको घमण्ड’ शैली आशय दिने भिडियो क्लिप सामाजिक सञ्जालतिर प्रचार गरे । भिडियो क्लिपले ग्रुप र पेजतिर राम्रै, लाइक र कमेन्ट पायो । तर, विनोदको भाषामा त्यो भिडियो प्रचार गरेअनुसार पटक्कै सही थिएन ।

‘सामजिक सञ्जालमा भइरहेको अनावश्यक टिप्पणीलाई मैले बेवास्ता गर्दै आएको थिए । तर, नेपालको नाम चलेका मिडियाले समेत सत्य तथ्य नबुझी लेख्न मिल्ला?,’ विनोदले आज त्यो विषयमा लामो स्टाटस लेख्दै प्रश्न नै गरेका छन् ।

उनले आफूलाई कम्तिमा एकपटक सोधेर त लेखेको भए हुने थियो भन्दै थप दुई पश्न गरेका छन्, ‘जबकी कप्तान सन्दीप आफैंले विभिन्न सञ्चारमाध्यममा टोलीभित्र त्यस्तो केही विवाद नरहेको बताइसकेका छन् । सत्य के हो नबुझी समाचार लेख्नु कतिको जायज हो? यो विषयमा कसैले सन्दीप वा मलाई केही सोध्यो?’

आँखिर वास्तविकता के थियो त? बढौं उनकै शब्दमा

सन्दीपले ओभर सकिएपछि आफ्नो क्याप माग्नलाई हात अगाडि बढाएका थिए । र, क्याप मसँग नभएर अर्काे खेलाडी सँग थियो । त्यसैले मैले मसँग होइन भनेर आफ्नो पोजिसनमा जान लागेको हो । अर्काेपटक बलिङ चेन्ज गर्ने वा नगर्ने भन्ने विषयमा सल्लाह गर्न सन्दीप आएको र मैले यही ठीक हुँदैछ भन्दै आफ्नो पोजिसनमा फर्किएको हुँ । यस विषयलाई कुरा नबुझी टिमको कुनै मेम्बर वा म्यानेजर कसैलाई नसोधी, समाचार बनाउनु सरासर गलत छ ।