काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न पञ्चाब किंग्सविरुद्ध कोलकाता नाइट राइडर्स (केकेआर) लाई जित दिलाउन अलराउन्डर आन्द्रे रसेलले उत्कृष्ट पारी खेले । उनले ३१ बलमा आठ छक्का र दुई चौकासहित अविजित ७० रनको आक्रामक पारी खेले ।
टिमले सस्तैमा ४ विकेट गुमाएको अवस्थामा पनि आक्रामक ब्याटिङ गरेका रसेलले केकेआरलाई १४.३ ओभरमा ६ विकेटले जिताए । खेल सकिएपछि उनले आफ्नो आक्रामक पारीबारे प्रतिक्रिया पनि दिएका छन् ।
‘मैले टिमका लागि जे गर्न सकिन्छ त्यही गरेँ । राम्रो लाग्छ, त्यसैले हामी खेल खेल्छौँ । यस्तो अवस्थामा म के गर्न सक्छु भन्ने मलाई थाहा छ । स्ट्राइक घुमाउन र कठिन समयमा हामीलाई मद्दत गर्न सक्ने साम बिलिङ्सजस्तो कोही क्रिजमा हुनु राम्रो थियो,’ रसेलले भनेका छन् ।
रसेलले अगाडि थपे, ‘डेथ ओभरमा बलिङ गर्न चाहन्छु । यदि कप्तानले पावरप्लेमा मैले एउटा बलिङ गरोस् भन्ने चाहन्छन् भने म त्यसो गर्न पाउँदा खुसी हुनेछु । तर, हामीसँग राम्रो संख्यामा बलर छन् । मलाई थाहा छ केही खेलहरूमा म ४ ओभर बलिङ गर्दिनँ । तर, कम्तीमा दुई ओभर बलिङ गर्छु भने म खेलको हिस्सा महसुस गर्न सक्छु । र, अलराउन्डर जस्तो महसुस गर्न सक्छु । साथै, ब्याटिङमा म केही छक्का प्रहार गरेर टोलीका लागि योगदान दिन सक्छु ।’
यो पनि पढौं– ‘त्रिकोणात्मक सिरिज’मा सर्वाधिक विकेटकर्ता : शीर्षमा करण, यस्तो छ अन्य बलरको स्थान
यो पनि पढौं– त्रिकोणात्मक सिरिजमा सर्वाधिक रन : शीर्षमा उक्लिए उरा, यस्तो छ नेपाली ब्याटरको स्थान















