राजस्थानले दियो कोलकातालाई विशाल लक्ष्य, बटलरले बनाए कीर्तिमान नै कीर्तिमान

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को ३० औं खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्स (केकेआर) लाई २१८ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१७ रन बनायो ।

उसका लागि प्रारम्भिक ब्याटर जोस बटलरले शतकीय पारी खेले । उनले ६१ बलमा पाँच छक्का र ९ चौकासहित १०३ रन बनाए । जारी सिजनमा बटलरको यो दोस्रो शतक हो । उनले यही संस्करणमा मुम्बई इण्डियन्सविरुद्ध ६८ बलमा ११ चौका र पाँच छक्कासहित १०० रन बनाएका थिए ।

आईपीएलमा भने उनको यो तेस्रो शतक हो । बटलरले आईपीएलमा पहिलो शतक २०२१ मा बनाएका थिए । केकेआरविरुद्ध शतक बनाएसँगै बटलरले इतिहास रचेका छन् । उनी आईपीएलको एकै सिजनमा दुई शतक बनाउने पहिलो इंग्लिस खेलाडी बनेका छन् ।

बटलरअघि कुनै पनि इंग्लिस खेलाडीले आईपीएलको एकै सिजनमा दुई शतक बनाएका थिएनन् । साथै, उनले राजस्थानका लागि आईपीएलमा तीन शतक बनाउने पहिलो ब्याटरको रेकर्ड पनि बनाएका छन् । त्यस्तै, केकेआरविरुद्ध कप्तान सञ्जु सामसनले ३८, देवदत्त पाडिक्कलले २४ र शिमरोन हेटमायरले १३ बलमा अविजित २६ रनको योगदान दिए ।

कोलकाताका सुनिल नारायणले दुई, शिवम् मावी, प्याट कमिन्स र प्याट कमिन्सले एक/एक विकेट लिए । जारी लिगमा राजस्थान र केकेआरले समान पाँच म्याच खेल्दा तीन/तीन खेलमा जित हात पारेका छन् ।