काठमाडौं ।
इण्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलोपटक दौडिएर चार रन पूरा भएको छ । भारतमा जारी १५ औं सिजनअन्तर्गत सोमबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्ध राजस्थान रोयल्सका ओपनरद्वय देवदत्त पाडिक्कल र जोस बटलरले दौडिएर चार रन पूरा गरेका हुन् ।
बटलर र पडिक्कलले खेलको पहिलो पारीको तेस्रो ओभरमा चार रन लिएका थिए । यसमा कुनै ‘ओभर थ्रो’ थिएन । यसअघि सन् २०१७ मा ग्लेन म्याक्सवेलले दौडिर चार रन पूरा गरेका थिए । तर, त्यसबेला ‘ओभर थ्रो’को कारण थप उनले दुई रन पूरा गर्न पाएका थिए ।
बटलरले १०३ रनको शतकीय पारी खेलेको उक्त खेलमा राजस्थानले कोलकातालाई ७ रनले पराजित गरेको थियो । राजस्थानले दिएको २१७ रनको लक्ष्य पछ्याएको कोलकाताले १९.४ ओभरमा सबै विकेट गुमाएर २१० रन बनायो । उसका लागि कप्तान श्रेयस अय्यर र आरोन फिन्चले उत्कृष्ट पारी खेले ।
अय्यरले ५१ बलमा सात चौका र चार छक्कासहित ८५ रन बनाए । त्यस्तै, फिन्चले २८ बलमा नौ चौका र दुई छक्कासहित ५८ रनको आक्रामक पारी खेले । उमेश यादव २१ र नितिश राणा १८ रनमा आउट भए । राजस्थानका लागि स्पिनर युजवेन्द्र चहलले ह्याट्रिकसहित पाँच विकेट लिए ।
उनले १७ औं ओभरमा श्रेयस अय्यर, शिवम मावी र प्याट कमिन्सलाई आउट गर्दै ह्याट्रिक पूरा गरे । त्यसअघि चहलले यही ओभरको पहिलो बलमा वैंकटेश अय्यरलाई आउट गरेका थिए । उनले १२ औं ओभरको अन्तिम बलमा नितिश राणालाई आउट गर्दै आफ्नो खाता खोलेका थिए ।
चहलले ४ ओभरमा महत्वपूर्ण ५ विकेट लिएर ४० रन खर्चिए । राजस्थानको जितमा महत्वपूर्ण योगदान दिएका उनी प्लेयर अफ द म्याच पनि घोषित भए । त्यस्तै, ओबेद म्याक्योले दुई, रविचन्द्रन आश्विन र प्रसिद्ध कृष्णाले एक–एक विकेट लिए ।
त्यसअघि मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१७ रन बनायो । उसका लागि प्रारम्भिक ब्याटर जोस बटलरले शतकीय पारी खेले । उनले ६१ बलमा पाँच छक्का र ९ चौकासहित १०३ रन बनाए ।
जारी सिजनमा बटलरको यो दोस्रो शतक हो । उनले यही संस्करणमा मुम्बई इण्डियन्सविरुद्ध ६८ बलमा ११ चौका र पाँच छक्कासहित १०० रन बनाएका थिए । आईपीएलमा भने उनको यो तेस्रो शतक हो । बटलरले आईपीएलमा पहिलो शतक २०२१ मा बनाएका थिए ।
















