थप बलियो बन्दै अफगानिस्तानको क्रिकेट टोली, यस्तो छ बोर्डको आगामी योजना

Image

काठमाडौं ।

अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) का नवनियुक्त अध्यक्ष मिरवाइस अशरफले देशको क्रिकेट विकासका लागि थप योजना बनाइरहेको बताएका छन् । उनले अब सिनियर खेलाडीलाई पनि घरेलु क्रिकेटमा सहभागी गराउन अनिवार्य गर्ने विषयमा योजना बनाइरहेको बताएका हुन् ।

अध्यक्ष अशरफले सिनियर खेलाडीले टेस्ट टोलीमा स्थान बनाउने हो भने उनीहरूले उपलब्ध भएको समयमा देशको घरेलु प्रथम श्रेणी प्रतियोगिताहरूमा भाग लिनुपर्ने उल्लेख गरे । यदि राशिद खान उपलब्ध रहे भने उनले पनि प्रथम श्रेणी प्रतियोगितामा भाग लिनुपर्ने अशरफले स्पष्ट पारेका छन् ।

‘कुनै पनि देशको क्रिकेट विकासका लागि घरेलु क्रिकेटको योगदान निकै महत्वपूर्ण हुन्छ । हामीले प्रयास पनि गरिरहेका छौं । र, यसलाई अझ बलियो बनाउने योजनामा छौं,’ पूर्वक्रिकेटर समेत रहेको अशरफले क्रिकबजसँगको कुराकानीमा भनेका छन्, ‘हामी टेष्ट च्याम्पियनसिपको तयारीका लागि घरेलु प्रथम श्रेणी क्रिकेटलाई कडा बनाउन चाहन्छौं । साथै, सबै खेलाडी सहभागी हुनुपर्छ । राशिद उपलब्ध भएमा पक्कै पनि यसमा सहभागी हुनेछन् ।’

अफगानिस्तानको घरेलु क्यालेन्डरअनुसार मार्च र मेमा दुई एकदिवसीय प्रतियोगिता आयोजना हुनेछन् । यसबाहेक बोर्डले यू–१६ ओडिआई र टी–२० प्रतियोगिता पनि आयोजना गर्ने तयारी गरेको छ । त्यस्तै, तीनदिवसीय प्रतियोगिता आयोजना गर्ने बोर्डको तयारी रहेको पनि अध्यक्ष अशरफले बताएका छन् ।

जुन/जुलाईमा बोर्डले फ्रेन्चाइज टी–२० लिग आयोजना गर्नेछ । त्यसपछि चारदिवसीय प्रतियोगिता खेलाउने बोर्डको तयारी छ । यसबाहेक वर्षको अन्त्यमा एकदिवसीय र टी–२० प्रतियोगिता पनि खेलाइने बोर्डको योजना छ ।

अफगानिस्तानले यही वर्ष टी–२० विश्वकप र एसिया कपमा सहभागिता जनाउने छ । त्यसको तयारीका लागि अफगानिस्तानको टिम ठूला टोलीसँग थप खेल खेल्न चाहेको अध्यक्ष अशरफले बताए । सन् २०२३ मा हुने एकदिवसीय विश्वकपमा छनोट हुनका लागि टोलीले सुपर लिगमा राम्रो प्रदर्शन गर्नुपर्नेछ ।

अफगानिस्तानले यो वर्ष अष्ट्रेलिया, पाकिस्तान र भारतसँग सुपर लिग खेल्नेछ । कुनै बेला अफगानिस्तानको टोली नेपालभन्दा कमजोर मानिन्थ्यो । तर, अहिले भने ऊ विश्वका बलियो टोलीलाई कडा टक्कर दिने भइसकेको छ । देशमा अझै पनि राजनीतिक संकट पूर्णरूपमा हट्न नसके पनि अफगानिस्तानले खेलकुदमा भने प्रशंसायोग्य प्रगति गरिरहेको छ ।