काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सलाई ९ विकेटले हराउँदै दिल्लीले तेस्रो जित निकालेको हो ।
आफ्नो छैटौँ खेलमा पञ्जाबले दिएको ११६ रनको लक्ष्य दिल्लीले १०.३ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । उसका लागि डेविड वार्नरले अर्धशतकीय पारी खेले । उनले ३० बलमा १० चौका र एक छक्कासहित अविजित ६१ रन बनाए । पृथ्वी शाले २० बलमा सात चौका र एक छक्काको सहयोगमा ४१ रनको आक्रामक पारी खेले ।
सरफराज खान १२ बलमा नटआउट रहे । पञ्जाबका लागि राहुल चाहरले मात्र एक विकेट लिए । त्यसअघि मुम्बईस्थित बेर्बोन स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले २० ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो । उसका लागि जितेश शर्माले ३२, कप्तान मयंक अग्रवालले २४, शाहरुख खान र राहुल चाहरले समान १२ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
दिल्लीका लागि कुलदीप यादव, अक्षर पटेल, ललित यादव, खलील अहमदले दुई/दुई र मुस्तफिजुर रहमानले एक विकेट लिए । यो जितसँगै दिल्ली अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ । उसले ६ म्याच खेल्दा तीनमा जित र तीन खेलमा हार बेहोरेको छ ।
पञ्जाबले सात खेलमध्ये चारमा हार र तीन खेलमा जित हात पारेको छ । ऊ ६ अंकका साथ तालिकाको आठौँ स्थानमा छ । त्यस्तै, अंक तालिकाको शीर्षमा गुजरात, दोस्रोमा बैंग्लोर, तेस्रोमा राजस्थान, चौथोमा लखनऊ, पाँचौँमा हैदराबाद, सातौँमा कोलकाता, नवौँमा चेन्नई र दशौँमा मुम्बई रहेका छन् । ३२ म्याच सकिँदा यस्तो बन्यो अंक तालिका :