काठमाडौं ।
न्यूजिल्याण्डका तीव्र गतिका बलर एडम मिल्नेले भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी म्याच गुमाउने भएका छन् । ह्यामस्ट्रिङमा समस्या देखिएपछि उनले लिगको बाँकी खेल गुमाउने भएका हुन् । जारी सिजनको पहिलो खेलमा उनको ह्यामस्ट्रिङमा समस्या देखिएको थियो ।
बाँकी खेलका लागि उनी उपलब्ध हुने आशा थियो । तर, पूर्णरूपमा फिट नभएपछि मिल्ने आईपीएलबाट बाहिरिएका हुन् । यसअघि नै चेन्नईका अर्का तीव्र गतिका बलर दीपक चाहर पनि आईपीएलबाट बाहिरिसकेका छन् । मिल्नेको स्थानमा चेन्नईले श्रीलंकाका युवा तीव्र गतिका बलर मथीशा पाथिरानालाई अनुबन्ध गरेको छ ।
चेन्नईले उनलाई २० लाख भारुमा अनुबन्ध गरेको हो । पाथिरानाले २०२२ र २०२२ को यू–१९ विश्वकप खेलिसकेका छन् । उनी ‘जुनियर मलिंगा’को नामले पनि परिचित छन् । उनी लसिथ मलिंगाको शैलीमा बलिङ गर्छन् ।
जारी सिजनमा चेन्नईले खराब प्रदर्शन गरिरहेको छ । उसले ६ म्याच खेल्दा एक खेलमा मात्र जित हात पारेको छ । चेन्नईले आफ्नो सातौँ खेलमा बिहीबार मुम्बई इण्डियन्सको सामना गर्दैछ । मुम्बईले ६ म्याच खेल्दा सबैमा हार बेहोरेको छ ।