पोर्चुगलबाट क्रिकेट खेल्ने तयारीमा राहुल, नेपालका लागि खेलिसकेका छन् विश्वकप

Image
फाइल तस्बिर

काठमाडौं ।

कुनै बेला राहुल विश्वकर्मा नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य थिए । टिमका लागि राम्रो प्रदर्शनका बाबजुद अहिले भने उनी गुमनाम जस्तै छन् । उनले सन् २००८ को यू–१९ विश्वकप खेलेका थिए ।

जहाँ राहुलको प्रदर्शन राम्रो रहेको थियो । सो विश्वकपमा उनले ६ खेलमा ३.८२ को इकोनमीमा १० विकेट लिएका थिए । राहुलले अन्तिमपटक २०१४ मा नेपालका लागि खेलेका थिए । त्यसयता भने उनी टोली बाहिर नै रहे ।

टिममा शक्ति गौचन र बसन्त रेग्मी जस्ता स्पिनर रहेकाले पनि राहुलले लामो समय टोलीमा स्थान बनाउन सकेनन् । उनले आईसीसी विश्व लिग क्रिकेट–५ मा अमेरिकाविरुद्ध ७ विकेट पनि लिएका थिए । लामो समय गुमनाम जस्तै बनेका राहुल फेरि क्रिकेटमा फर्किने तयारीमा छन् ।

यसपटक उनी पोर्चुगलमा छन् । जहाँ राहुलले गोर्खा–११ बाट युरोपियन क्रिकेट लिग खेलिरहेका छन् । अब उनले पोर्चुगलमै रहेर क्रिकेट खेल्ने बताएका छन् । युरोपियन टी–१० लिगमा उनले राम्रो प्रदर्शन पनि गरिरहेका छन् । २९ वर्षीय राहुलले टिमका लागि ब्याटिङमा १ सय ५२ रन बनाएका छन् । साथै, उनले बलिङमार्फत् दुई विकेट पनि लिएका छन् ।

नेपालमा रहँदा क्रिकेट खेल्नका लागि साथ नपाएकाले पोर्चुगल रोज्नु परेको पनि राहुलले गुनासो गरेका छन् । उनले सन् २००७ मा एसीसी यू–१९ इलाइट कप खेलेका थिए । राहुल सोही वर्ष सिनियर टिममा पनि अटाए । २०१३ मा नेपालका लागि डिभिजन–३ खेलेका राहुलले दुई म्याचमा पाँच विकेट लिएका थिए । नेप्लेज डटकमको सहयोगमा