मुम्बईले दियो चेन्नईलाई प्रतिस्पर्धात्मक लक्ष्य, वर्मा पास हुँदा शर्मा फेल !

Image

काठमाडौं ।

भारतमा जारी आईपीएलको १५ औँ सिजनअन्तर्गत आफ्नो सातौँ खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्स (सिएसके) लाई १ सय ५६ रनको लक्ष्य दिएको छ । डिवाई पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनायो ।

उसका लागि युवा ब्याटर तिलक वर्माले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा तीन चौका र दुई छक्काको मद्दतमा नटआउट ५१ रन बनाए । १९ वर्षीय तिलकले आज कठिन समयमा अर्धशतकीय पारी खेलेका हुन् । जारी लिगमा उनको यो दोस्रो अर्धशतक हो ।

त्यस्तै, जयदेव उनादकले उत्कृष्ट पारी खेले । उनले ९ बलमा एक चौका र एक छक्कासहित अविजित १९ रन बनाए । त्यस्तै, सूर्यकुमार यादवले ३२, ऋतिक शोकिनले २५ र किरण पोलार्डले १४ रनको योगदान दिए । कप्तान रोहित शर्मा र इशान किशन भने शून्यमा आउट भए ।

सिएसकेका लागि मुकेश चौधरीले उत्कष्ट बलिङ गरे । उनले ३ ओभरमा १९ रन खर्चिएर तीन महत्वपूर्ण विकेट लिए । त्यस्तै, ड्वेन ब्रावोले दुई, महेश थिक्क्षणा र मिचेल साइटनरले एक/एक विकेट हात पारे ।

जारी सिजनमा चेन्नईले ६ म्याच खेल्दा एक खेलमा मात्र जित हात पारेको छ । मुम्बईले भने ६ म्याच खेल्दा सबैमा हार बेहोरेको छ ।