काठमाडौं ।
जिम्बाब्वे ‘ए’ सँगको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टिम घोषणा गरेको छ । क्यानले आज सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय र टी-२० सिरिजका लागि २३ सदस्यीय टोली घोषणा गरेको हो ।
जिम्बाब्वेसँगको सिरिजमा गुल्शन झा, अनिलकुमार साह, कमलसिंह ऐरी र दिलिप नाथले भने मौका पाउन सकेनन् । यीमध्ये कमल चोटका कारण विश्राम गरिरहेका छन् । उनी त्रिकोणात्मक सिरिजका क्रममा घाइते भएका थिए । गुल्शन पनि सो सिरिजमा घाइते भएका थिए ।
यद्यपि उनी अहिले फिट हुँदा पनि टिममा अनटाएका हुन् । दिलिप र अनिल भने खराब लयका कारण टोलीबाट बाहिरिए । दिलिप त्रिकोणात्मक सिरिजको अन्तिम दुई खेलमा लगातार शून्यमै आउट भएका थिए । अनिलले एकदिवसीय सिरिजको दुवै खेलमा सन्तोषजनक प्रदर्शन गर्न सकेका थिएनन् ।
कमब्याक गर्ने खेलाडी
विनोद भण्डारी, सुशन भारी, सुनिल धमला, साहब आलम र किशोर महतोले टिममा कमब्याक गरेका छन् । टिममा बशिर अहमदले पहिलोपटक मौका पाएका छन् । पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई भने यसपटक पनि टोलीमा राखिएको छैन । उनलाई पिएनजी र मलेसियासँगको सिरिजमा पनि विश्राम नै दिइएको थियो ।
नेपाल र जिम्बाब्वे ‘ए’बीचको खेल यही ३० अप्रिलदेखि सुरु हुँदैछ । यी दुई टिमले तीनतीन खेलको एकदिवसीय र टी–२० सिरिज खेल्न लागेका हुन् । नेपाल र जिम्बाब्वेले पहिले एकदिवसीय श्रृंखला खेल्ने छन् । टी–२० सिरिज ६ मेदेखि सुरु हुनेछ । दुवै सिरिजको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् ।
जिम्बाब्वे ‘ए’ सँग सिरिज खेल्ने नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, रोहितकुमार पौडेल, विनोद भण्डारी (विकेटकीपर), करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, आदिल अन्सारी, भीम सार्की, सुशन भारी, पवन सरार्फ, अविनाश बोहरा, बिक्रम सोब, लोकेश बम, सुनिल धमला, विवेक यादव, साहब आलम, सागर ढकाल र बशिर अहमद ।
















